२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

मेरो संगठनिक यात्रा


१२४५५ पाठक संख्या
  • २०८२ कार्तिक १४, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • ✉️ खुला पत्र
    श्रद्धेय तथा सहयोद्धा कमरेडहरूमा संग्रामी अभिवादन !

    हालै बाग्मती प्रदेश समितिले जारी गरेको सर्कुलर पढ्ने अवसर पाएँ। सो सर्कुलरमार्फत मलाई बाग्मती प्रदेश परिषद् सदस्यका रूपमा मनोनयन गरिएको रहेछ। यस निर्णयप्रति म न अत्यधिक खुशी छु, न दुःखी। पार्टीले गरेको निर्णय स्वीकार गर्नु नै मेरो कर्तव्य हो भन्ने बुझाइमा छु।
    साथै, सिफारिस गर्ने समिति र मनोनयन गर्ने सम्पूर्ण नेतृत्वप्रति आभार व्यक्त गर्दछु।

    तर यो मनोनयनको खबर सुनेपछि, मेरो मनमा धेरै प्रश्नहरू जागे — ती प्रश्नहरू म अरूलाई होइन, आफैंलाई सोध्दैछु र उत्तर खोज्ने प्रयत्नमा छु।

    आत्मसमीक्षा : मेरो संगठनिक यात्रा

    विगत १८ वर्षदेखि जिल्ला समितिमा रही पार्टीका नीति र निर्णयहरू कार्यान्वयनमा सधैं सक्रिय रहँदै आएको छु।
    YCL नेपालमा लामो समय कार्यरत रहँदा संगठन विस्तारमा योगदान पुर्‍याएको अनुभव छ।
    २०६४ को निर्वाचनमा अनैकोट क्षेत्रका कार्यकर्ताहरूको जोश, बलिदान र संघर्षले पार्टीलाई विजय दिलाएकोमा गर्व महसुस गर्छु।

    तर, अहिले आएर आत्ममूल्यांकन गर्दा देखिन्छ —

    मेरो ऊर्जाशक्ति, समय र सक्रियता पहिले जस्तो छैन।

    निर्वाचन क्षेत्र, पालिका र वडा तहमा पार्टीको प्रभाव घट्दै गएको छ।

    मत र सदस्यता निरन्तर घटेका छन् — २०६४ को तुलनामा २०७९ मा मतको गिरावट लाजलाग्दो छ।

    पाँचखाल नगरमा १३ वडामध्ये पहिले दुई वडामा जित हुँदा, पछिल्लो निर्वाचनमा केवल एक वडामा मात्र सफलता मिल्यो।

    मेरो आफ्नै वडामा पार्टीको मत घट्दै गएको छ, र संगठन कमजोर बन्दै गएको छ।

    पार्टी सदस्य संख्या ३०० माथिबाट घटेर हाल १५० जति मात्र बाँकी छ।

    पुराना अनुभवी र जनप्रिय कार्यकर्ताहरू पार्टीबाट अन्यत्र लाग्दा तिनलाई रोक्न सकेको छैन।

    नयाँ पुस्तालाई आकर्षित गर्न र नेतृत्वको तयारी गराउन असफल भएको छु।

    समाज, किसान, युवा, विद्यार्थी र सहकारीसँग प्रत्यक्ष सम्पर्क र संवादको अभाव छ।

    प्रविधी प्रयोग र अध्ययन–अनुसन्धानमा रुचि नदेखाउँदा समयानुकूल बन्न नसकेको महसुस गर्छु।

    यी सबै कुराले मलाई प्रश्न गर्न बाध्य बनाउँछन् —
    के म अहिले पनि संगठनका लागि उपयोगी र आवश्यक सदस्य हुँ ?
    के मेरो योगदानले पार्टीको जनमत बढाएको छ ?
    कि म केवल “भक्तिगान” गर्ने अनुयायी भएर सीमित छु ?

    वर्तमान यथार्थ र सुझाव

    मसँग कुनै गुनासो छैन, तर चिन्ता भने छ —
    पार्टी अझै यथास्थितिमा चलिरहने हो कि सुधारको दिशामा अघि बढ्ने ?
    आजको आवश्यकताको घडीमा जनमत र समुदायसँग जोडिन सक्ने कार्यकर्ताहरूको कदर हुनुपर्छ।
    भक्तिपरायण होइन, जनआधारित नेतृत्व नै संगठनको बल हो।

    त्यसैले, समुदायले नस्वीकार्ने, छिमेकीले भरोसा नराख्ने मभन्दा पनि
    जनताको विश्वास जित्ने जयबहादुरजस्ता कार्यकर्ताहरूलाई अघि ल्याउनुहोस्।
    यिनै जनमत भएका साथीहरू नै पार्टीको वास्तविक शक्ति हुन्।

    निष्कर्ष

    यो पत्र कसैप्रति गुनासो होइन, आत्ममूल्यांकनको प्रयास हो।
    पार्टीप्रतिको निष्ठा, जनताको विश्वास, र संगठनप्रतिको प्रतिबद्धता कायम रहोस् — यही मेरो शुभेच्छा हो।

    धन्यवाद।
    लाल सलाम !

    नारायण ढकाल
    मनोनित प्रदेश परिषद् सदस्य
    पाँचखाल–२, अनैकोट, काभ्रे
    मिति : २०८२ कार्तिक १४

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार