काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
कोभिड–१९ महामारीको समयमा व्यक्तिगत सुरक्षा सामग्री (PPE लगायत) खरिद प्रक्रियामा अनियमितता गर्दै महँगो दरका बोलपत्र छनोट गराइ राज्यलाई ३१ लाख १७ हजार ८९ रुपैयाँ हानी पुगेको ठहर गर्दै आयोगले उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा सोमबार आरोपपत्र दायर गरेको हो।
आर्थिक वर्ष २०७८–७९ मा आवश्यक सामग्री खरिदका लागि आह्वान गरिएको बोलपत्रमा कम मूल्य कबोल गर्ने फारम पन्छाएर बढी मूल्य कबोल गर्ने आपूर्तिकर्तालाई ठेक्का दिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
अनियमिततामा संलग्न ठहर गरिएका व्यक्तिहरूमध्ये डा. सापकोटासँगै तत्कालीन लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रञ्जितकार, रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो, बायोमेडिकल इञ्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्र नरसिंह कार्की तथा आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका प्रोप्राइटर नवराज श्रेष्ठ छन्।
सातै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कानुनी कारबाही र बराबर रकमको बिगो असुल–उपर गर्ने मागसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस