२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

मतदाता सूचीदेखि उम्मेदवारी शुल्कसम्म: एमाले संगठन विभागको ५ कडाइपूर्ण निर्देशन


२७५७ पाठक संख्या
  • २०८२ मंसिर ९, मंगलबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ।
    पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार सोमबार साँझ भर्चुअल बैठकबाट निर्णय गर्दै निर्देशन जारी गरिएको हो।

    निर्देशनअनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुअघि सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरूपमा प्रकाशन गर्नुपर्नेछ। यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार मान्न भनिएको छ। कायम भएको मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तात्कालिक रूपमा जानकारी गराउन पनि निर्देशन गरिएको छ।

    मंसिर १२ गते साँझसम्म सर्वसम्मतिको प्रयास गर्न र सो नमिलेमा १३ गते अनिवार्य रूपमा निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि छनौट गर्न विभागले निर्देश दिएको छ। विभागले कुनै पनि बहानामा १३ गते निर्धारित प्रतिनिधि छनौट प्रक्रिया नथाक्न भन्दै कडाइ गरेको छ।

    केही जिल्लामा प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएपछि विभागले हस्तक्षेप गरेको छ। प्रतिनिधिका उम्मेदवारबाट बढीमा एक हजार रुपैयाँभन्दा बढी शुल्क नलिन पनि निर्देशन गरिएको छ।

    प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरूलाई समयमै कार्यक्षेत्रमा पुगेर प्रक्रिया सहज बनाउन संगठन विभागले विशेष रूपमा निर्देशन दिएको छ।

    एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गते काठमाडौंमा हुनेछ। महाधिवेशनका लागि मंसिर १३ गते देशभर तथा प्रवासमा एकैदिन प्रतिनिधि छनौट गर्नु पर्नेछ। यस पटक महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार