काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा योमरी पुर्णिमाको अवसर पारेर महिला उद्यमी प्रवर्धन, प्रदर्शनी तथा बृहत सांस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। देवीस्थान महिला समूहको आयोजनामा र पाँचखाल नगरपालिकाको प्रायोजनमा गरिएको कार्यक्रममा स्थानीय घरेलु उत्पादनदेखि कृषि उपज, नेवारी तथा नेपाली परिकार, धिमे वाजा र लाखे नाचसम्म समेटिएको थियो।
कार्यक्रम देवीस्थान महिला समूहकी अध्यक्ष पुण्यदेवी श्रेष्ठको सभापतित्वमा तथा पाँचखाल नगरप्रमुख महेश खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। नगर प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष सञ्जय तमाङ विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा समाजसेवी होमराज चौलागाइँ, पाँचखाल नगरपालिका–४ का अध्यक्ष सुन्दर तामाङ, वडा–३ का अध्यक्ष सुन्दर अधिकारी, पाँचखाल प्रहरी चौकी प्रमुख प्रशान्त तमाङ, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमलाई सफल बनाउन एभरेष्ट कलर नेपाल भक्तपुर, आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी, माँ गोल्मादेवी सप्लायर्स, लभग्रीन नेपाल, राष्ट्रिय बाणिज्य बैंक, छिमेक लघुवित्त, प्रतिष्ठा कृषि सहकारी, दिप ज्योति फेमिली रिसोर्ट, विन्ध्यवासिनी साकोस, न्यू शिव किराना स्टोर, तामाघाट युवा क्लब, भविष्य निर्माण युवा क्लब, तामाघाट नेवा: पुच लगायतका संस्थाले सहयोग गरेका थिए।
प्रभा दुलालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुनिता लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो। विशेषगरी योमरी स्वाद लिनको लागि लाइनमा कुर्नै पर्ने अवस्था सिर्जना भएको थियो।
मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति राखिएको कार्यक्रममा सहभागीले नेवारी र नेपाली सांस्कृतिक झल्को समेटिएका विविध प्रस्तुति आनन्दपूर्वक अवलोकन गरेका थिए।
प्रतिक्रिया दिनुहोस