२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

‘सहकारी क्षेत्रमा AI प्रयोग’ विषयक एकदिवसीय तालिम सम्पन्न


४८८९ पाठक संख्या
  • २०८२ मंसिर २५, बिहिबार मा प्रकाशित २ महिना अघि
  •  काभ्रे, मंसिर २४ । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा “सहकारी क्षेत्रमा AI (Artificial Intelligence) को प्रयोग” विषयक एकदिवसीय तालिम संघको सभाहलमा सम्पन्न भएको छ।

    तालिम कार्यक्रम संघका शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक शान्ती लामा तामाङको सभापतित्वमा तथा संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो। कार्यक्रममा प्रविधि विज्ञ सन्दिपराज भाटले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

    सहकारी संस्थामा सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन तथा सदस्य–संवाद प्रणालीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजित तालिममा संघका संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा काभ्रेका विभिन्न सहकारी संस्थाबाट ३२ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गरेका थिए।

    तालिमका क्रममा सहकारीको दैनिकी कार्यमा AI प्रविधि कसरी प्रयोग गर्न सकिन्छ, जोखिम व्यवस्थापन र निर्णय प्रक्रियालाई कसरी प्रविधिमैत्री बनाउने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, AI आधारित डेटा विश्लेषण, लेखा व्यवस्थापन, सदस्य सेवा स्वचालन, सूचना प्रवाह र कागजी कार्यलाई डिजिटल रूपान्तरण गर्ने उपायहरूबारे सहजकर्ता भाटले प्रयोगात्मक रूपमा सहजिकरण गरे।

    संघका अध्यक्ष अमन पोटे श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रलाई प्रविधिसँग जोडेर दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताए। सचिव प्रकाश बञ्जाराले सहभागीहरूलाई स्वागत गर्दै प्रविधिको सकारात्मक–नकारात्मक दुवै पक्ष हुने भएकाले सिकेको ज्ञानलाई जिम्मेवाररूपमा प्रयोग गर्न आग्रह गरे।

    त्यसैगरी कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले AI सम्बन्धी तालिम सहकारी व्यवस्थापनमा कर्मचारीहरूको लागि अत्यन्त फलदायी हुने उल्लेख गर्दै सिकेका सीप आफ्ना–आफ्नै संस्थामा लागू गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रम समापन गर्दै संघका उपाध्यक्ष तथा शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक शान्ती लामा तामाङले सहकारीलाई आधुनिक प्रविधिको प्रभावकारी उपयोगमार्फत सदस्यलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।

    दिनभर चलेको तालिमले सहभागीहरूलाई आवश्यक सीप, ज्ञान र आत्मविश्वास प्रदान गरेको तथा तालिमपछि संकलित सुझावले आगामी दिनमा अझ प्रभावकारी तालिम निर्माणमा सहयोग पुग्ने विश्वास संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले व्यक्त गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार