२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

रुकुममै जनार्दन शर्माविरुद्ध कालो झण्डा :माओवादी पहिचान त्याग्दा आफ्नै कार्यकर्ताको प्रतिरोध


२६५३ पाठक संख्या
  • २०८२ मंसिर २९, सोमबार मा प्रकाशित १ महिना अघि
  • २९ मंसिर, सुर्खेत।केही महिनाअघि मात्रै फूलको गुच्छा बोकेर स्वागत गर्न तँछाडमछाड गर्ने रुकुम पश्चिमका युवाहरूले आइतबार जनार्दन शर्मालाई कालो झण्डा देखाए। प्रचण्डबाट अलग भएसँगै पहिलो पटक गृहजिल्ला पुगेका शर्माले अपेक्षित समर्थन होइन, तीव्र असन्तोषको सामना गर्नुपर्‍यो।

    दुई दशकभन्दा बढी समयदेखि रुकुमको राजनीतिमा प्रभाव जमाउँदै आएका शर्माले आफ्नै आधारभूमिमा आफ्नै कार्यकर्ताबाट विरोध खेप्नुपर्नु राजनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ। नेताहरूका अनुसार कम्युनिस्ट पार्टी र माओवादी धार छाड्नु नै कालो झण्डा प्रदर्शनको मुख्य कारण हो।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी पृष्ठभूमिबाट अलग भएका प्रभाकरसहित जनार्दन शर्मा अहिले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठनतर्फ उन्मुख छन्, जसमा शर्माले संरक्षकको भूमिका लिएका छन्। यही कदमलाई लिएर पूर्वजनमुक्ति सेनाभित्र आक्रोश चुलिएको देखिन्छ।

    कालो झण्डा देखाउन गएका एक पूर्वजनमुक्ति सेनाले भने, “हिजो माओवादी क्रान्तिको नाममा हामीलाई लडाउने, घाइते बनाउने, अनि आज कम्युनिस्ट पार्टी नै छाड्ने ? शहीदको बलिदानलाई मजाक बनाउनेलाई फूल दिन सकिँदैन।”

    उनका अनुसार पार्टीभित्रको अन्तरसंघर्षसम्म स्वीकार्य भए पनि माओवाद नै त्याग्नु स्वीकार्य छैन। “रुकुम माओवादी क्रान्तिको उद्गम थलो हो। हामी व्यक्ति त्याग्न सक्छौँ, तर क्रान्ति त्याग्न सक्दैनौँ,” उनले जोड दिए।

    राजनीतिक सन्देश के हो?

    यो घटना केवल एक नेताविरुद्धको असन्तोष मात्र होइन, माओवादी आन्दोलनको पहिचान, त्याग र वैचारिक निरन्तरतामाथिको प्रश्न हो। आधारभूमिबाट उठेको यो प्रतिरोधले जनार्दन शर्माको नयाँ राजनीतिक यात्रालाई चुनौतीपूर्ण बनाएको छ भने माओवादी आन्दोलनभित्रको वैचारिक विभाजन अझ स्पष्ट रूपमा सतहमा आएको संकेत गर्दछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार