२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

भक्तपुरमा एक महिनामै १४ जघन्य अपराध, ३७ जना पक्राउ


२७५७ पाठक संख्या
  • २०८२ पौष ६, आईतबार मा प्रकाशित १ महिना अघि
  • भक्तपुर । भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले मङ्सिर महिनाभरि जिल्लामा घटेका अपराधसम्बन्धी विवरण सार्वजनिक गर्दै गम्भीर प्रकृतिका १४ घटना भएको जनाएको हो ।

    परिसरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुका अनुसार मङ्सिरमा कुल १३२ वटा मुद्दा दर्ता भएका छन् भने ३७ जना पक्राउ परेका छन् । दर्ता भएका गम्भीर अपराधमा आठ वटा लागुऔषधसम्बन्धी, चार वटा जबर्जस्ती करणी तथा दुई वटा मानव बेचबिखनका घटना रहेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका घटना तुलनात्मक रूपमा बढी देखिएको उनले बताए ।

    त्यसैगरी आर्थिक अपराधअन्तर्गत बैंकिङ कसुरका मुद्दा सबैभन्दा धेरै रहेको प्रहरीले जनाएको छ । मङ्सिर महिनामा ७१ वटा आर्थिक अपराधका घटना दर्ता हुँदा तीमध्ये ६७ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेका छन् । सार्वजनिक चासोका कर्तव्य ज्यानसम्बन्धी दुई मुद्दाको सफल अनुसन्धान भएको र फैसला कार्यान्वयनका क्रममा ३७ जनाबाट रु ३८ लाख १३ हजार ८०० जरिवाना असुल गरिएको जानकारी पनि प्रहरीले दिएको छ ।

    सूचना अधिकारी जवेजुका अनुसार फैसला कार्यान्वयन भएका मुद्दामा सात वर्ष छ महिना १६ दिनसम्मको कैद सजाय तोकिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४९ वटा मुद्दामध्ये ३३ वटामा मिलापत्र भएको र १६ वटा मुद्दा प्रक्रियामै रहेको प्रहरीले जनाएको छ ।

    उमेर समूहका आधारमा हेर्दा पीडितमध्ये १८ देखि ४० वर्ष उमेर समूहका ३३ जना र ४० देखि ६० वर्षसम्मका १६ जना रहेका छन् । पीडकको उमेर समूहमा १८ देखि ४० वर्षका ३६ जना तथा ४० देखि ६० वर्षसम्मका २० जना रहेका छन् ।

    मङ्सिर महिनामा हराएका आठ जना महिलामध्ये छ जना र सात जना पुरुषमध्ये पाँच जना फेला परेका छन् । हराएका ११ जना बालिकामध्ये सबैलाई सकुशल फेला पारिएको प्रहरीले जनाएको छ । घरेलु हिंसाअन्तर्गत श्रीमान्–श्रीमतीबीचको झगडासम्बन्धी २० वटा उजुरी परेकामा ११ वटामा मिलापत्र गरिएको छ ।

    ठाडो उजुरीतर्फ २०१ उजुरी दर्ता भएकामा १६७ वटा फछ्र्यौट भएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ४४ उजुरीमध्ये ४० वटाको फछ्र्यौट भइसकेको प्रहरीको भनाइ छ । लागुऔषधका आठ घटनामा १२ जना पक्राउ परेका छन् भने विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मङ्सिर महिनामा पाँच वटा आत्महत्याका घटना भएको तथ्याङ्कमा देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार