११ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको समयसीमा र तयारीलाई लिएर अन्योल बढ्दै गएपछि विशेष महाधिवेशनको माग गर्ने पक्षधर समूहले पार्टी नेतृत्वलाई स्मरण पत्र बुझाएको छ। पार्टीको विधानअनुसार समयमै नियमित महाधिवेशन हुन नसक्ने अवस्था देखिएपछि विशेष महाधिवेशनको विकल्प अपरिहार्य भएको निष्कर्षसहित स्मरण पत्र बुझाइएको हो।
विशेष महाधिवेशन पक्षधर समूहका नेता देवराज चालिसेले पार्टीभित्र लामो समयदेखि नियमित महाधिवेशनको विषयमा स्पष्ट निर्णय हुन नसकेको भन्दै शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाइएको जानकारी दिए। उनले विधानअनुसार नियमित महाधिवेशन नहुने अवस्था सिर्जना भएमा विशेष महाधिवेशन बोलाउनु नै वैधानिक र राजनीतिक रूपमा उचित विकल्प हुने बताए।
चालिसेका अनुसार पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउन र संगठनात्मक अन्योल अन्त्य गर्न विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ। पार्टी नेतृत्वले यस विषयमा गम्भीरता नदेखाए संगठनभित्र असन्तुष्टि थप चुलिन सक्ने चेतावनी पनि उनले दिए।
यसअघि उक्त समूहले देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्दै २९ असोजमा विशेष महाधिवेशनको मागसहित २ हजार ४८८ प्रतिनिधिको हस्ताक्षर संकलन गरेको थियो। संकलित हस्ताक्षरसहितको ज्ञापनपत्र सोही दिन कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो।
पार्टी विधानले तोकेको समयसीमाभित्र नियमित महाधिवेशन हुन नसक्ने अवस्था देखिएको दाबी गर्दै पक्षधर समूहले विशेष महाधिवेशनमार्फत नेतृत्व र संगठनात्मक संरचनालाई स्पष्ट दिशामा लैजानुपर्ने माग अघि सारेको छ। यद्यपि पार्टी नेतृत्वतर्फबाट स्मरण पत्रका विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।
प्रतिक्रिया दिनुहोस