२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पार्टी नाम र चुनाव चिन्हमै अड्कियो एकता, रास्वपाको प्रस्ताव अस्वीकार


४०३१ पाठक संख्या
  • २०८२ पौष १२, शनिबार मा प्रकाशित १ महिना अघि
  • १२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ। शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समिति बैठकले रास्वपाको प्रस्ताव तत्काल स्वीकार गर्न नसकिने निष्कर्ष निकाल्दै एकताको विषयमा थप गृहकार्य र संवादलाई निरन्तरता दिने निर्णय गरेको हो।

    बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार रास्वपाले प्रस्तावित संरचनाअनुसार पार्टी सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा ऊर्जा मन्त्री कुलमान घिसिङ र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई अघि सार्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावबारे पार्टीका संरक्षकसमेत रहेका ऊर्जा मन्त्री कुलमान घिसिङले केन्द्रीय समिति बैठकमा विस्तृत ब्रिफिङ गरेका थिए।

    तर प्रस्तावमा सहमति जुट्न नसकेपछि उज्यालो नेपाल पार्टीले एकताको बाँकी संवाद र समन्वयको जिम्मेवारी पार्टी अध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको बैठक स्रोतले जनाएको छ। विशेषगरी पार्टीको नाम र चुनाव चिन्हको विषयमा रास्वपाको प्रस्तावप्रति उज्यालो नेपाल पार्टीले फरक मत राखेको बताइएको छ।

    रास्वपाले एकतापछि पनि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘घण्टी’ नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो। यस विषयमा समेत घिसिङले बैठकमा जानकारी गराएपछि उज्यालो नेपाल पार्टीले पुनर्विचार गरेर मात्रै निर्णय लिनुपर्ने अडान राखेको हो।

    बैठकपछि सार्वजनिक गरिएको पार्टी निर्णयमा सहअस्तित्वको विषयलाई मुख्य बुँदाका रूपमा उल्लेख गरिएको छ। पार्टीले जारी गरेको निर्णयमा भनिएको छ, ‘सबैको सहअस्तित्वलाई स्थापित हुनेगरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहेको छ। आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरियो।’

    यसैबीच, ऊर्जा मन्त्री कुलमान घिसिङले शनिबार नै काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट पारेका थिए। उनले सहअस्तित्व, सम्मान र समान भूमिकाका आधारमा मात्रै दिगो राजनीतिक एकता सम्भव हुने धारणा व्यक्त गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार