२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

भेनेजुएलामाथि साम्राज्यवादी आक्रमण भएको नेकपा (संयुक्त)को आरोप


६३१९ पाठक संख्या
  • २०८२ पौष २०, आईतबार मा प्रकाशित १ महिना अघि
  • २० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका पुर्‍याइएको भनिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै स्तब्ध भएको जनाएको छ। पार्टीले उक्त घटनालाई भेनेजुएलाको सार्वभौमसत्ता र स्वतन्त्रतामाथिको ठाडो हमला भएको टिप्पणी गरेको छ।

    पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा जारी प्रेस विज्ञप्तिमा यस किसिमको कार्य अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि कुनै पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका राष्ट्राध्यक्षलाई जबर्जस्ती पक्राउ गरी अर्को देशमा लैजानु अन्तर्राष्ट्रिय सम्बन्धको स्थापित मान्यता विपरीत हो।

    विज्ञप्तिमा साम्राज्यवादको चरित्रप्रति कडा टिप्पणी गर्दै भनिएको छ, “एकपछि अर्को मुलुकमाथि आक्रमण गर्नु साम्राज्यवादको स्थायी चरित्र हो भन्ने तथ्य यस घटनाले अझ स्पष्ट पारेको छ।” पार्टीका अनुसार भेनेजुएलामाथि गरिएको भनिएको आक्रमण त्यहाँ रहेको प्रचुर खनिज तेल तथा प्राकृतिक स्रोतसाधनमाथि कब्जा जमाउने उद्देश्यबाट प्रेरित छ।

    नेकपा (संयुक्त)ले यो घटनालाई केवल भेनेजुएलामै सीमित नराखी सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रमाथि हस्तक्षेप विस्तार गर्ने रणनीतिक कदमका रूपमा हेर्नुपर्ने उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ कि यस्ता कार्यहरूले विश्व शान्ति, स्वतन्त्र राष्ट्रहरूको अस्तित्व र अन्तर्राष्ट्रिय सहअस्तित्वको सिद्धान्तलाई गम्भीर खतरा पुर्‍याउँछ।

    पार्टीले भेनेजुएलामाथि भएको भनिएको आक्रमण तत्काल बन्द गर्न माग गर्दै त्यसविरुद्ध उभिन सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय, शान्तिप्रेमी शक्तिहरू, वामपन्थी तथा प्रगतिशील दलहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ। साथै, उत्पीडन र हस्तक्षेपविरुद्धको संघर्षमा भेनेजुएलाका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार