२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

महाभारत गाउँपालिकाले अलपत्र विकास आयोजनामा ठेकदारलाई ७ दिने कडा चेतावनी


३१९९ पाठक संख्या
  • २०८२ पौष २१, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक, महाभारत– महाभारत गाउँपालिकामा ठेक्का लिएर काम अलपत्र पार्ने ठेकदारहरूलाई गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कडा चेतावनी दिएका छन्। अध्यक्ष जिम्बाले हिजो सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ठेकदारहरूलाई ७ दिनभित्र आफ्नो–आफ्नो कार्यस्थलमा फर्किएर सम्झौता अनुसार काम सुरु गर्न निर्देशन दिएका छन्।

    अध्यक्ष जिम्बाले भनेका छन् कि तोकिएको समयभित्र काम सुरु नगरेको अवस्थामा ठेकदारविरुद्ध चरणबद्ध कारबाही अगाडि बढाइनेछ। पहिलो चरणमा कम्पनीको नाम र ठेगाना सार्वजनिक गरी सचेत गराइनेछ भने दोस्रो चरणमा सम्बन्धित सञ्चालकको नाम, तस्बिर र उनी आबद्ध राजनीतिक पृष्ठभूमि समेत सार्वजनिक गरिनेछ। त्यसपछि पनि अटेरी गरे कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने अध्यक्ष जिम्बाको स्पष्ट भनाइ छ।

    अध्यक्ष जिम्बाले विकास निर्माणका काम लथालिङ्ग हुँदा जनताले प्रत्यक्ष रूपमा भोग्नु परेको दुःखको उल्लेख गर्दै अब यस्तो स्थिति सहन नसकिने अवस्था आएको बताए। उनले भने, “ठेक्का लिएर काम नगर्ने प्रवृत्तिले विकासलाई अवरुद्ध बनाएको छ, यसलाई अन्त्य गर्न सबैको सहयोग आवश्यक छ।”

    उनले यस अभियानमा जिल्लास्थित कार्यालयहरू, आम नागरिक, राजनीतिक दल, कर्मचारी, पत्रकार तथा सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गर्दै सकारात्मक सुझावको अपेक्षा समेत गरेका छन्।

    गाउँपालिकाको यो कडा चेतावनीपछि अलपत्र परेका विकास आयोजनाहरू पुनः सञ्चालन हुने आशा गरिएको छ, जसले स्थानीय जनताको सुविधा र विकास कार्यमा गति ल्याउने विश्वास व्यक्त गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार