२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

खानीखोलामा दोस्रोपटक नि:शुल्क आँखा शिविर, ७२ जनाले लिए सेवा


१६९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ पौष २४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–३ नम्बर वडा, जुरेमा दोस्रोपटक नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। रेयुकाई ईको मासुनाग आँखा अस्पताल, बनेपाबाट खटिएका दक्ष स्वास्थ्यकर्मीहरूको टोलीले शिविर सञ्चालन गर्दै स्थानीय नागरिकहरूलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरेको हो।

    शिविरमा कुल ७२ जना सेवाग्राहीले आँखा जाँच गराएका थिए। परीक्षणका क्रममा २ जनामा मोतीबिन्दु (क्याटार्याक्ट) समस्या देखिएको वडा नम्बर ३ का अध्यक्ष सागर जिम्बाले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष यही वडाबाट २६ जनाको मोतीबिन्दु शल्यक्रिया रेयुकाई ईको मासुनाग आँखा अस्पतालमा सफलतापूर्वक सम्पन्न भइसकेको छ।

    नि:शुल्क आँखा शिविरमा खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा तथा वडा नम्बर ३ का अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। ग्रामीण भेगका नागरिकहरूलाई घरदैलोमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ।

    शिविरबाट लाभान्वित स्थानीय बासिन्दाहरूले नि:शुल्क आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीय तहको समन्वय र पहलमा सञ्चालन गरिएका यस्ता स्वास्थ्य कार्यक्रमहरूले ग्रामीण समुदायको समग्र स्वास्थ्य सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार