२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

निर्वाचनअघि महाधिवेशनको दबाब: कांग्रेसका २५ केन्द्रीय सदस्यको आन्तरिक बैठक


२२६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ पौष २५, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • २५ पुस, काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिँदै गएको संगठनात्मक तथा महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि संस्थापन पक्षीय २५ जना केन्द्रीय सदस्यहरूको समूहले छुट्टै आन्तरिक छलफल गरेको छ।

    पार्टी एकता मजबुत बनाउने र देखिएका असहमति तथा द्वन्द्वलाई सहमतिमार्फत व्यवस्थापन गर्ने उद्देश्यसहित उक्त समूह शुक्रबार ललितपुरको कुपण्डोलमा भेला भएको हो। छलफलमा विशेषतः पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका, समयमै महाधिवेशन सम्पन्न गर्ने विषय तथा निर्वाचनअघि कि पछि भन्ने बहसमा मध्यमार्गी निकास निकाल्ने विषयमा गम्भीर छलफल भएको सहभागीहरूले बताएका छन्।

    केन्द्रीय सदस्य डा. डिला संग्रौलाका अनुसार पार्टीभित्र देखिएका मतभेदलाई संवादमार्फत समाधान गर्न पहल थालिएको हो। “पार्टी कमजोर हुने गरी विवाद बढ्न नदिन हामीले सबै धारसँग संवाद सुरु गरेका छौँ,” उनले भनिन्, “महाधिवेशन र आगामी राजनीतिक कार्यदिशाबारे साझा धारणा बनाउने हाम्रो प्रयास हो।”

    केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार इतर समूहका नेता डा. शेखर कोइरालासँग पनि महाधिवेशनसम्बन्धी विवाद व्यवस्थापन र सहमतिमा पुग्ने विषयमा छलफल केन्द्रित रहेको थियो। उनले पार्टीभित्रको ध्रुवीकरणलाई कम गर्दै सबै पक्ष स्वीकार गर्न सक्ने समाधान खोज्नुपर्नेमा जोड दिए।

    यो समूहले यसअघि २२ पुसमा नेता डा. शेखर कोइरालासँग छुट्टै छलफल गरेको थियो भने १८ पुसमा पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टीभित्रको विवाद समाधानका लागि पहल गर्न आग्रह गरेको थियो। सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेटघाट गरी महाधिवेशनको समय र प्रक्रियाबारे धारणा आदान–प्रदान गरिएको थियो।

    २५ जना केन्द्रीय सदस्यहरूको यो समूह १५औँ महाधिवेशनको कार्यतालिकाबारे पार्टीभित्र बहस चलिरहेका बेला निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा स्पष्ट रूपमा उभिँदै आएको छ। समूहका सदस्यहरूका अनुसार समयमै महाधिवेशन सम्पन्न भए पार्टी संगठन थप सुदृढ हुने र आगामी निर्वाचनका लागि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्न सहज हुने विश्वास लिइएको छ।

    पार्टीभित्र संवाद र सहमतिका पहलहरू तीव्र बन्दै गएसँगै कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ अघि बढ्ने संकेत देखिएको नेताहरूको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार