२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

जेन्जीको आवाज दबाउन कांग्रेस–एमालेको अपवित्र गठबन्धन


३७७१ पाठक संख्या
  • २०८२ पौष २६, शनिबार मा प्रकाशित ४ हफ्ता अघि
  • फरक सिद्धान्त, फरक राजनीतिक दर्शन र फरक ऐतिहासिक पृष्ठभूमि बोकेका नेपाली कांग्रेस र नेकपा एमालेबीच हुन खोजेको गठबन्धनलाई सामान्य राजनीतिक समन्वयका रूपमा लिन अब गाह्रो भइसकेको छ। यो गठबन्धनले नेपाली राजनीतिमा स्थायित्व ल्याउने भन्दा पनि जनमतको अपमान र सत्तामोहको नाङ्गो प्रदर्शन गरेको अनुभूति गराइरहेको छ। निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा यस्ता वैचारिक रूपमा असंगत दलहरू एकै ठाउँ उभिनुले जनतामा सकारात्मक सन्देश जानेभन्दा प्रश्न, अविश्वास र आक्रोश नै बढी जन्माएको छ।

    इतिहास धेरै टाढा छैन। यिनै दुई दल मिलेर बनेको सरकार जनअपेक्षाको भार थेग्न नसकी ‘जेन्जी आन्दोलन’को चपेटामा परेको थियो। युवा पुस्ताको असन्तुष्टि र आक्रोशको प्रतीक बनेको उक्त आन्दोलनले २७ घण्टामै सरकार ढालिदिनु नेपाली राजनीतिमा दुर्लभ र लज्जास्पद घटना थियो। त्यो क्षणले स्पष्ट सन्देश दिएको थियो—सत्ता जोडघटाउ जनताको समर्थनबिना टिक्न सक्दैन। तर विडम्बना, त्यो सन्देशबाट पाठ सिक्नुको सट्टा, कांग्रेस र एमाले फेरि उही बाटो हिड्न जुर्मुराउदै छ।

    निर्वाचनमा ‘कार्यगत एकता’को नाममा गर्न खोजेको यो गठबन्धन नीति, सिद्धान्त वा राष्ट्रिय आवश्यकताबाट प्रेरित देखिँदैन। बरु यसले सत्ताको पहुँच सुरक्षित गर्ने, पुरानै शक्ति संरचनालाई जोगाइराख्ने र उदाउँदै गरेको वैकल्पिक राजनीतिक धारलाई रोक्ने नियत झल्काउँछ। यही कारणले यो गठबन्धनलाई जनताले ‘अपवित्र गठबन्धन’का रूपमा हेर्न थालेका छन्।

    अर्कोतर्फ, पुराना दलहरूको असफलता, अवसरवाद र दोहोरो चरित्रप्रति वितृष्णा प्रकट गर्दै जेन्जी पुस्ताले नयाँ राजनीतिक विकल्पप्रति आशा देखाइरहेको समय हो यो। पारदर्शिता, जवाफदेहिता र परिणाममुखी शासनको माग गरिरहेको पुस्तालाई पुरानै अनुहार र उही सत्तालोलुप गठजोड देखाइनु भनेको उनीहरूको आवाजमाथि कुठाराघात गर्नु हो। यो केवल राजनीतिक रणनीति होइन, नयाँ पुस्ताको चेतनालाई कमजोर बनाउने प्रयास पनि हो।

    लोकतन्त्रमा गठबन्धन अस्वाभाविक होइनन्। तर जब गठबन्धनहरू वैचारिक सामञ्जस्य, नीति स्पष्टता र जनउत्तरदायित्वभन्दा माथि सत्ताको अंकगणितमा मात्र आधारित हुन्छन्, तब तिनले लोकतन्त्रलाई बलियो होइन, कमजोर बनाउँछन्। कांग्रेस–एमालेको हुन खोजेको गठबन्धनले आज त्यही जोखिम बोकेको छ।

    अब प्रश्न स्पष्ट छ—के यी दलहरू जनताको विश्वास पुनः जित्न तयार छन्, कि केवल सत्ता जोगाउने खेलमै सीमित रहन्छन् ? यदि उत्तर दोस्रो हो भने, जेन्जीको असन्तुष्टि अझ गहिरिनेछ, वैकल्पिक राजनीतिक शक्तिहरू अझ बलियो हुनेछन् र पुराना दलहरू इतिहासका पानामा सीमित हुने दिन टाढा रहने छैनन्।

    सत्ताका लागि सिद्धान्त तिलाञ्जली दिनु लोकतन्त्रको दीर्घकालीन हितमा हुँदैन। जनताको भरोसा गुमाएर बनाइने कुनै पनि सरकार, जतिसुकै ठूलो गठबन्धन किन नहोस्, अन्ततः जनदबाब सामु टिक्न सक्दैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार