काभ्रेपलाञ्चोक । जिल्ला काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका–२, खानिडाँडास्थित गोरेटो बाटोबाट लडेर एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ।
मिति २०८२ पुस २८ गते करिब १०:०० बजे प्रहरी चौकी श्यामपाटी काभ्रेको सञ्चार दरबन्दी भई हाल प्रहरी चौकी फलामेटार काभ्रेमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्का मृत अवस्थामा फेला परेका हुन्। मृतक खड्का दोलखा जिल्ला शैलुङ गाउँपालिका–५, काटाकुटी स्थायी वतन भएका थिए।
प्रहरीका अनुसार खड्का सूचना सङ्कलन तथा निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रवाहको जिम्मेवारीसहित सो क्षेत्रमा खटिएका थिए। सोही दिन दिउँसो करिब १५:३० बजे खानिडाँडास्थित गोरेटो बाटोबाट करिब २५ मिटर तल सडकमा लडेको अवस्थामा उनी मृत रहेको स्थानीयले देखेपछि प्रहरी चौकी फलामेटारमा खबर गरिएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटारबाट प्रहरी जवान मुरारी झाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। साथै, प्रहरी चौकी तालढुंगा काभ्रेबाट प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउतको कमाण्डमा दुई जनाको टोली समेत घटनास्थलमा पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई तत्काल जानकारी गराइएको थियो।
घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार काभ्रेबाट प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा पाँच जनाको टोली खटिएको छ। साथै, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट SOCO (घटनास्थल अपराध अनुसन्धान) टोली समेत घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ। मृतक प्रहरी हवल्दार खड्का यही पुस ९ गतेदेखि प्रहरी चौकी फलामेटारमा कार्यरत रहेका थिए।
प्रतिक्रिया दिनुहोस