
आई.आर.के.मैनाली३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। नामावली प्रकाशित भएपछि उम्मेदवारमाथि दाबी तथा विरोध जनाउने समय दिउँसो ४ बजेदेखि ४ः३० बजेसम्म तोकिएको छ। उक्त अवधिमा प्राप्त दाबी–विरोधमाथि समितिले आवश्यक छानबिन तथा निर्णय प्रक्रिया अघि बढाउने जनाएको छ।
समितिले दाबी–विरोधमाथि निर्णय गरेपछि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। यससँगै निर्वाचन प्रक्रियालाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन राति ८ बजेदेखि १ बजेसम्म मतदान हुने मतदाता सूची पनि सार्वजनिक गरिनेछ।
विशेष केन्द्रीय महाधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचना सुदृढ बनाउने, नेतृत्व चयनलाई लोकतान्त्रिक र मर्यादित बनाउने लक्ष्य राखिएको निर्वाचन समितिले स्पष्ट पारेको छ। निर्धारित समयतालिकाअनुसार सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न आवश्यक तयारी पूरा भइसकेको समितिको दाबी छ।
विशेष महाधिवेशनले पार्टीको आन्तरिक राजनीतिमा महत्त्वपूर्ण दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ। त्यसकारण कांग्रेस कार्यकर्ता, प्रतिनिधि तथा राजनीतिक वृत्तले निर्वाचन प्रक्रिया र परिणामलाई चासोका साथ हेरेका छन्।
प्रतिक्रिया दिनुहोस