२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया जान थप चुनौती, भिसा जाँच प्रक्रिया कडा


३६१५ पाठक संख्या
  • २०८२ पौष ३०, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • ३० पुस, काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रणालीमा थप कडाइ गरेको छ । अस्ट्रेलियाको शिक्षा विभागले विभिन्न देशका विद्यार्थीबाट पेस हुने कागजातको विश्वसनीयतामाथि प्रश्न उठेपछि भिसा जाँच प्रक्रिया कडा बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    नयाँ व्यवस्थाअनुसार नेपालसहित भारत, बंगलादेश र भुटानका विद्यार्थीलाई ‘हाइ–रिस्क’ (उच्च जोखिम) श्रेणीमा राखिएको छ । भिसा प्रक्रिया पूर्ण रूपमा बन्द गरिएको भने होइन, तर यी देशका विद्यार्थीले अब भिसा आवेदन गर्दा पहिलेभन्दा बढी प्रमाणिक र विस्तृत कागजात पेस गर्नुपर्नेछ ।

    समाचारअनुसार अस्ट्रेलियाले सन् २०२६ जनवरी ८ देखि लागू हुने गरी नयाँ नीति कार्यान्वयनमा ल्याएको हो । यस नीतिअन्तर्गत अस्ट्रेलियाले देशगत जोखिम मूल्यांकनको स्तर (Risk Level) पुनःसमायोजन गरेको छ, जसमा दक्षिण एसियाली मुलुकहरू बढी प्रभावित भएका छन् ।

    नयाँ सूचीअनुसार नेपालको जोखिम स्तर लेभल २ बाट घटेर लेभल ३ मा पुगेको छ, जुन उच्च जोखिम श्रेणी मानिन्छ । भुटान पनि लेभल २ बाट लेभल ३ मा झरेको छ । यसैगरी बंगलादेश लेभल १ (कम जोखिम) बाट सिधै लेभल ३ मा घटुवा भएको छ भने श्रीलंका लेभल १ बाट लेभल २ मा झरेको छ । अस्ट्रेलियाली मापदण्डअनुसार लेभल १ कम जोखिम, लेभल २ मध्यम जोखिम र लेभल ३ उच्च जोखिममा पर्दछन् ।

    अस्ट्रेलियाली पक्षका अनुसार पछिल्लो समय केही देशका विद्यार्थीले पेस गर्ने बैंकिङ कागजात, वित्तीय स्रोत, शैक्षिक प्रमाणपत्र तथा भाषा दक्षता सम्बन्धी कागजातमा आशंका देखिन थालेपछि यस्तो निर्णय लिइएको हो । यसका साथै विद्यार्थीको अध्ययनका लागि अस्ट्रेलिया जान चाहनुको वास्तविक उद्देश्य (Genuine Student Intent) स्पष्ट नदेखिएको भन्दै पनि जाँच प्रक्रिया कडा बनाइएको जनाइएको छ ।

    अबदेखि भिसा आवेदनका क्रममा भाषा परीक्षा, वित्तीय विवरण, शैक्षिक प्रमाणपत्र, अध्ययन योजना र भविष्यको करियर लक्ष्यसम्बन्धी प्रमाणहरू कडाइका साथ मूल्यांकन गरिनेछ । सबै कागजातको गहिरो अध्ययनपछि मात्र भिसा स्वीकृत गरिने भएकाले आवेदन प्रक्रिया लम्बिन सक्ने र खर्चसमेत बढ्न सक्ने अनुमान गरिएको छ ।

    यस नयाँ नीतिले अस्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई थप तयारी, स्पष्ट अध्ययन योजना र विश्वसनीय कागजात पेस गर्नुपर्ने चुनौती थपिएको सरोकारवालाहरू बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार