२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पाँचखाल प्रहरी चौकी भवन, मेश र व्यारेक हस्तान्तरण तथा उद्घाटन “प्रहरी र स्थानीय सरकार एउटै परिवार हुन्” – मेयर खरेल


३१४७ पाठक संख्या
  • २०८२ माघ ४, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक।“प्रहरी विनाको जनता कल्पना समेत गर्न सकिँदैन। नागरिकको सुरक्षा गर्ने मुख्य दायित्व प्रहरीकै हो। त्यसैले स्थानीय सरकार र प्रहरी एउटै परिवारजस्तै भएर काम गर्नुपर्छ,” पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले बताउनुभएको छ।

    पाँचखाल नगरपालिका–स्थित पाँचखाल प्रहरी चौकीको कार्यालय भवन, मेश तथा व्यारेक निर्माण सम्पन्न भई हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर खरेलले नेपाल प्रहरीले उच्च मनोबलका साथ गरेको सेवाका कारण सम्पूर्ण नेपाली नागरिक सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्नुभयो।

    उहाँले भन्नुभयो, “जनताको सुरक्षा सुनिश्चित गर्ने क्रममा प्रहरीलाई जुनसुकै प्रकारको सहयोग आवश्यक परेमा नगरपालिकाको तर्फबाट सधैं साथ र सहयोग रहनेछ। पदमा बसेका व्यक्तिले भ्रष्टाचारमुक्त, पारदर्शी र जनअपेक्षाअनुसार सहज ढंगले सेवा प्रदान गर्नुपर्छ, जुन सबै कार्यालयमा लागू हुन जरुरी छ।”

    मेयर खरेलले भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’का क्रममा ध्वस्त भएको पाँचखाल प्रहरी चौकी पुनर्निर्माणमा स्थानीयवासीको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीयले चौकी निर्माणमा साथ दिनु नै प्रहरी र जनता हातेमालो गर्दै अगाडि बढेको स्पष्ट संकेत हो।”

    चौकी निर्माणका लागि पाँचखाल नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको जानकारी दिँदै उहाँले निर्माणको केही चरण अझै बाँकी रहेकाले आवश्यक परे थप बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    मेयर खरेलले व्यक्तिगत तर्फबाट समेत १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ। उक्त रकम नगरप्रमुखको हैसियतमा नगरबाट प्राप्त हुने तलब–भत्ताबाट प्रदान गरिएको जानकारी प्राप्त भएको छ। स्मरणीय छ, मेयर खरेलले २०७४ सालमा पाँचखाल नगरपालिकाको पहिलो नगरप्रमुखमा निर्वाचित भई सपथ ग्रहण गर्दा नगरबाट प्राप्त हुने तलब तथा भत्ता नलिई सो रकम स्थानीय तहकै विकास निर्माण र सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको थियो। सोही घोषणाअनुसार उक्त रकम विभिन्न सार्वजनिक हितका कार्यमा निरन्तर प्रयोग हुँदै आएको छ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले संविधानअन्तर्गत नागरिकको सुरक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको रहेको स्पष्ट पार्नुभयो।
    उहाँले भन्नुभयो, “प्रहरीले नागरिकको मात्र नभई देशको समग्र सुरक्षाको जिम्मेवारी वहन गरिरहेको छ। कानुन विपरीत कार्य गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनु प्रहरीको कर्तव्य हो। प्रहरीको निरन्तर प्रयासका कारण गलत बाटोमा लागेका धेरै व्यक्ति सुधार भएर असल नागरिक बनेका उदाहरण छन्।”

    भदौ २३ र २४ गतेको आन्दोलनको सन्दर्भ उल्लेख गर्दै प्रहरी उपरीक्षक शाहले भन्नुभयो, “हामी शान्ति सुरक्षा कायम गर्न सडकमा तैनाथ थियौं। तर आन्दोलनको पहिलो निशाना प्रहरी बन्यो। चौकीहरूमा आक्रमण सुरु भएपछि यदि जोगाउने प्रयास गरियो भने ठूलो मानवीय क्षति हुनसक्ने अवस्था देखियो, त्यसैले मैले स्वयं प्रहरीलाई पछि हट्न निर्देशन दिएको थिएँ।”

    उहाँले थप्नुभयो, “ध्वस्त भएको पाँचखाल प्रहरी चौकी पुनर्निर्माणमा नगरपालिका, नगरप्रमुख तथा स्थानीयवासीको सहयोगले काम छिटो सम्पन्न भएको छ, जसले शान्ति सुरक्षा प्रवाहमा सहजता ल्याएको छ।”

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन विष्टले अतिथिहरूलाई स्वागत गर्दै भन्नुभयो, “प्रहरी बर्दीधारी नागरिक हो भने नागरिक बर्दीविनाको प्रहरी हो। प्रहरी र जनता नङ र मासुको सम्बन्धमा छन्। जनताको साथ, सहयोग र विश्वास विना प्रहरीले गरेका कामहरूको पूर्ण अर्थ रहँदैन।”

    पाँचखाल नगरपालिका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष संजय तामाङले नगर क्षेत्रमा शान्ति सुरक्षा अझ मजबुत बनाउन वडा नं. १ को घुमाउने चौरमा प्रहरी पोस्ट स्थापना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विकृति, विसङ्गति तथा दुर्व्यसन अन्त्यका लागि प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्न नगरपालिका तयार रहेको स्पष्ट गर्नुभयो।

    त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष सुन्दर तामाङले जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी चौकी पुनर्निर्माण कार्य पाँचखाल नगरपालिका, जिल्ला प्रहरी कार्यालय, नगरप्रमुख महेश खरेल तथा स्थानीयवासीको सामूहिक प्रयासबाट सम्भव भएको भन्दै खुशी व्यक्त गर्नुभयो।

    पाँचखाल चौकी प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङद्वारा सञ्चालित उक्त कार्यक्रममा चौकी निर्माणमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, पाँचखाल खानेपानी जल उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर ठकुरी, नवदुर्गा इट्टा भट्टका प्रोप्राइटर लक्ष्मी सुन्दर प्रजापति, समाजसेवी धरशमान लामा, निर्माण व्यवसायी लक्ष्मण भट्ट, समाजसेवी लुला बहादुर सापकोटा (नवराज) तथा स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक प्रबन्धक सन्तोष नापित रहनुभएको थियो।

    कार्यक्रममा सशस्त्र प्रहरी बल १५ नं. गण हे.क्वा. काभ्रेपलाञ्चोकका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी, जिल्ला समन्वय समितिकी प्रवक्ता अप्सरा ढुंगाना, सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली, वडा नं. १३ का वडा अध्यक्ष सुकवीर तामाङ, वडा नं. ७ का वडा अध्यक्ष रामकृष्ण दंगाल, वडा नं. १ का वडा अध्यक्ष जयबहादुर तामाङलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार