पछिल्लो एक दशकमा मुलुकको नेतृत्व सम्हालेकाहरूले जनअपेक्षाअनुसारको कार्यसम्पादन गर्न नसकेको यथार्थ आज कसैबाट लुकेको छैन। यही असन्तुष्टि, निराशा र आक्रोशको परिणामस्वरूप ‘जेन–जी आन्दोलन’ जन्मियो, जसले अन्ततः फागुन २१ गते हुने निर्वाचनको मार्ग प्रशस्त गर्यो।
निर्वाचन लोकतन्त्रको उत्सव हो, द्वन्द्व र विवादको कारण होइन। निर्वाचनको विषयलाई लिएर आपसी वैमनस्य, आरोप–प्रत्यारोप र कटुता बढाउनु वर्तमान परिस्थितिमा सान्दर्भिक हुँदैन। बरु यो समय आत्ममूल्यांकन, विवेक र जिम्मेवारीको अभ्यास गर्ने उपयुक्त घडी हो।
मुलुकको हित, भ्रष्टाचारमुक्त शासन र सुशासनको स्थापनाका लागि क्षमतावान, इमानदार र दूरदर्शी व्यक्तिको पहिचान गर्नु आजको प्रमुख आवश्यकता हो। मतदान केवल अधिकार मात्र होइन, यो भविष्य निर्माणसँग जोडिएको गम्भीर दायित्व पनि हो।
मुलुक निर्माणमा सबै नेपाली नागरिकको समान भूमिका रहन्छ। देशप्रतिको माया नभएको कुनै नागरिक हुँदैन। तर दबाब, प्रभाव वा प्रलोभनमा परेर गरिएको मतदानले मुलुकलाई पुनः खाडलतर्फ धकेल्ने खतरा रहन्छ। यस्ता कमजोरीहरूले वेथिति र विसंगति झन् बढाउने मात्र होइन, भावी पुस्ताको भविष्यसमेत अन्धकारमय बनाउने जोखिम बोकेको हुन्छ।
त्यसैले आज आवश्यक छ—क्षणिक स्वार्थभन्दा माथि उठेर दीर्घकालीन सोचका साथ मतदानमा सहभागी हुने। देश कता जाँदैछ र हामी कस्तो नेपाल भावी सन्ततिलाई हस्तान्तरण गर्न चाहन्छौँ भन्ने प्रश्नलाई मनन गर्दै गरिएको जिम्मेवार मतदान नै समृद्ध, सुशासित र सुरक्षित नेपालको आधार बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस