२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

जेन्जीको आवाज संसदसम्म पुर्‍याउने संकल्पसहित मधु आचार्य काभ्रे–२ मा


३२२५ पाठक संख्या
  • २०८२ माघ ९, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । पुस्तान्तरण, वैचारिक स्पष्टता र सांगठनिक सुधारमार्फत पार्टी तथा राज्य रूपान्तरणको आवाज सशक्त रूपमा उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।

    लामो समयदेखि पार्टीभित्र सुधार र परिवर्तनको बहसलाई संस्थागत गर्दै आएका आचार्यले युवापुस्ताको भावना, अपेक्षा र मुद्दालाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। गत भदौ २३ र २४ गते आयोजित कार्यक्रमहरूमा उनले ‘जेन्जी’ युवाहरूले खोजेको सुशासन, विकास, भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन व्यवस्था निर्माण आफ्नो मुख्य राजनीतिक प्रतिबद्धता रहेको स्पष्ट पारे।

    उनले अनावश्यक दलीयकरण र औपचारिकतामै सीमित राजनीतिक अभ्यास अन्त्य गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने नतिजामुखी काम गर्ने नयाँ कार्यशैली आवश्यक रहेको बताए। दलहरूभित्र मौलाउँदै आएको पुरातन सोच र कार्यशैली परिवर्तनका लागि आफूले पार्टीभित्रै संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसलाई समयसापेक्ष रूपान्तरणको दिशामा अघि बढाइएको दाबी गरे।

    काभ्रे–२ को विकास साझा अभियान

    काभ्रेपलाञ्चोकको समग्र विकास, सुशासन र परिवर्तन कुनै एक व्यक्ति वा दलको मात्र नभई सबै नागरिकको साझा अभियान भएको उल्लेख गर्दै आचार्यले क्षेत्र नं. २ को भविष्य उज्ज्वल बनाउन र यहाँका प्रत्येक नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन सधैं प्रतिबद्ध रहने बताए।

    उनका अनुसार आधुनिक कृषि प्रणालीको विकास, ग्रामीण तथा सहरी सडक सञ्जालको विस्तार, गुणस्तरीय शिक्षामा पहुँच, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा, स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्नु उनको प्रमुख प्राथमिकतामा छन्। साथै पारदर्शी, उत्तरदायी र जनमुखी राजनीतिक संस्कारको सुरुवात काभ्रेबाटै गर्ने उनको संकल्प छ।

    विद्यार्थी आन्दोलनदेखि परिवर्तनकारी राजनीतिसम्म

    मधु आचार्यको राजनीतिक चेतनाको सुरुवात पारिवारिक पृष्ठभूमिसँग गहिरो रूपमा जोडिएको छ। २०३३ सालमा राजनीतिक बन्दीका रूपमा रहेका आफ्ना ठूलोबुबा प्रेमप्रसाद आचार्य लाई धुलिखेल कारागारमा भेटेपछि उनको राजनीतिक चेतना अझ प्रखर बनेको थियो। प्रजातन्त्र सेनानी पिता ध्रुवप्रसाद आचार्य को प्रेरणाले उनी सक्रिय राजनीतिमा होमिएका हुन्।

    २०३५/३६ सालको विद्यार्थी आन्दोलनका क्रममा काठमाडौँ लैनचौरस्थित शान्ति विद्यागृहमा रहेको नेपाल विद्यार्थी संघको इकाई सचिव का रूपमा उनको भूमिका प्रभावशाली रह्यो। त्यसपछि बहुदल प्रजातन्त्रको प्रचार–प्रसारका लागि गाउँ फर्किएर संगठन विस्तारमा लागेका थिए।

    इञ्जिनियरिङ पढाइ, तर आन्दोलनप्रति पूर्ण समर्पण

    उत्कृष्ट अङ्क हासिल गर्दै एसएलसी उत्तीर्ण गरेका आचार्यले अमृत साइन्स क्याम्पस हुँदै कोलम्बो प्लानअन्तर्गत भारतको इलाहाबादमा सिभिल इञ्जिनियरिङ अध्ययन गरे। अध्ययनकै क्रममा उनी ‘नेपाली विद्यार्थी संघ’ को शाखा अध्यक्ष बनेर भारतका विभिन्न शहरमा पुग्दै प्रजातन्त्र पुनर्स्थापनाका लागि नेपाली समुदायलाई संगठित गर्न सक्रिय रहे।

    इञ्जिनियरिङमा प्रथम श्रेणीमा उत्तीर्ण भएर स्वदेश फर्किएपछि सहज रोजगारीको बाटो खुला हुँदाहुँदै पनि उनले पञ्चायती व्यवस्थाको अन्त्य र बहुदल पुनर्स्थापनाको आन्दोलनलाई प्राथमिकता दिएर राजनीतिलाई आफ्नो जीवन मार्ग बनाए।

    गणतन्त्रको पक्षमा दृढ अडान

    नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको पक्षमा रहँदैका बेला समेत मधु आचार्य लोकतान्त्रिक गणतन्त्रको पक्षमा स्पष्ट र निर्भीक रूपमा उभिएका नेता हुन्। नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति रहँदा २०६० तिर देशभरका जिल्ला सभापतिहरूको भेला आयोजना गरी लोकतान्त्रिक गणतन्त्र, संविधानसभा र माओवादीसँग वार्तामार्फत शान्ति स्थापना जस्ता ऐतिहासिक निर्णयमा भूमिका खेलेका थिए।

    नरहरि आचार्य र गगन थापासँग सहकार्य गर्दै पार्टीभित्र ‘लोकतान्त्रिक गणराज्यका लागि कांग्रेस अभियान’ लाई सशक्त बनाउन उनी अग्रपंक्तिमा रहे।

    सामाजिक सेवा र विकासमा योगदान

    राजनीतिसँगै विकास र सामाजिक सेवामा समेत सक्रिय आचार्यले सडक, खानेपानी, सिँचाइ, शिक्षा, तेस्रो आँखा नेपाल र पनौती सरसफाई अवियानका अभियान्ता, सामाजिक गतिविधिहरूमा सक्रिय भुमिका ,स्वास्थ्य र सञ्चार क्षेत्रको विस्तारमा निरन्तर योगदान दिँदै आएका छन्। बनेपास्थित रेयुकाई एइको मासुनागा आँखा अस्पताल का अध्यक्षका रूपमा उनले लाखौँ आँखारोगीलाई उपचार सेवा उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

    राजनीतिक प्रतिबद्धता र प्राविधिक दक्षतालाई जनसेवामा जोड्दै आएका मधु आचार्य आफूलाई “सधैं सडकमा रहेर जनताको सेवा गर्ने इञ्जिनियर” का रूपमा परिचित गराउँदै आएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार