२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

नगरपालिका–विद्यालय सहकार्य सुदृढ : जोरपाटी माविको ८१औँ वार्षिकोत्सव सम्पन्न


८८१५ पाठक संख्या
  • २०८२ माघ ९, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६ मा अवस्थित जोरपाटी माध्यमिक विद्यालयको ८१औँ वार्षिकोत्सव तथा अभिभावक भेला उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

    पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन गर्दै उनले विद्यार्थीलाई गुणस्तरीय, व्यवहारिक र आधुनिक शिक्षा प्रदान गर्न नगरपालिका र विद्यालयबीच सहकार्य सुदृढ हुँदै गएको बताए। शिक्षा नै भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै उनले विद्यार्थीको समग्र विकासका लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तह सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

    कार्यक्रमकी विशेष अतिथि तथा पाँचखाल नगरपालिका उपप्रमुख सूर्यमाया दनुवारले नगरपालिकाले विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्दै आएको बताइन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता, प्रतिभा, कला र सिर्जनशीलताप्रति खुशी व्यक्त गर्दै उनले अतिरिक्त क्रियाकलाप र व्यवहारिक ज्ञानलाई प्राथमिकतामा राखेर नगरपालिकाले बजेट व्यवस्था गरेको जानकारी गराइन्। विद्यालय सञ्चालनमा सबै पक्ष जिम्मेवार बने विद्यार्थीको भविष्य निर्माण सहज र प्रभावकारी हुने उनको भनाइ थियो। साथै, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको अधिकारलाई व्यवहारमै लागू गर्नुपर्ने र स्थानीय तहले अनावश्यक हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरिन्।

    पाँचखाल नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामशरण दुलालले जोरपाटी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई आफू जीवित रहेसम्म १५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गर्ने घोषणा गरे। विद्यालयमा गुणस्तरीय, व्यवहारिक र नैतिक शिक्षा प्रदान गर्दै विद्यार्थीको भविष्य निर्माणमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले शिक्षा शाखाप्रति असन्तुष्टि जनाए। आवश्यकताअनुसार अंग्रेजी शिक्षक चाहिएको अवस्थामा नेपाली शिक्षक पठाइएकाले अध्यापनमा समस्या आएको उनको गुनासो थियो। पार्टीगत पहुँचका आधारमा पठाइने शिक्षकलाई हाजिर नगराइने स्पष्ट चेतावनीसमेत दिए।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरोज धितालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली, विद्यालयका पूर्व प्रधानाध्यापक बद्रीप्रसाद ढुंगाना, नवप्रतिभा माध्यमिक विद्यालयका प्रिन्सिपल सरोज न्यौपाने, समाजसेवी तथा शिक्षासेवी झम्कप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका इन्दिरा हुमागाईंले गरेकी थिइन्। शिक्षक सुजनप्रसाद अधिकारी तथा विद्यार्थी सलिना राईले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको सुरुवात गरेका थिए। विद्यालयका प्रधानाध्यापक सरोज खतिवडाले विद्यालयका भावी योजना, कार्यक्रम तथा शैक्षिक चुनौतीका विषयमा धारणा राखेका थिए भने विद्यालय खेलकुद शिक्षक सुमन बख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

    स्थानीय पौडेल परिवारले उपलब्ध गराएको १० रोपनी क्षेत्रफलमा सञ्चालन हुँदै आएको जोरपाटी माध्यमिक विद्यालयमा पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तरमा सुधारसँगै विद्यार्थी संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। तीन वर्षअघि ७५ विद्यार्थी मात्र रहेको विद्यालयमा हाल २११ जना विद्यार्थी अध्ययनरत छन्।

    ०८१ सालको एसईई परीक्षामा सहभागी भएका १४ जना विद्यार्थीमध्ये १३ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। उत्तीर्ण विद्यार्थीहरूमध्ये ३.५ जिपिए प्राप्त गरी उत्कृष्ट नतिजा ल्याएकी आशिका सापकोटालाई वडा अध्यक्ष दुलालले व्यक्तिगत रूपमा १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेका थिए।

    विद्यालयमा २० थान कम्प्युटरमार्फत कम्प्युटर शिक्षा प्रदान गर्नुका साथै सिलाइ–कटाइ, कपाल कटाइ, नृत्य, वाद्यवादन, वायरिङ, आईसीटी डिजाइनिङ, कतारे लगायतका सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान हुँदै आएको छ। यी कार्यक्रम सञ्चालनका लागि नगरपालिकाबाट ७० प्रतिशत र विद्यालयबाट ३० प्रतिशत बजेट व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धितालले जानकारी गराए।

    कार्यक्रममा विद्यालयका चार जना पूर्व शिक्षकलाई सम्मान गरिएको थियो। त्यसैगरी श्रीकृष्णप्रसाद प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको छात्रवृत्ति अन्तर्गत उषा ढुंगाना र रस्मी खड्कालाई जनही तीन हजार रुपैयाँ प्रदान गरिएको थियो।
    त्यसैगरी प्रेमकुमारी तथा चेतकुमार आचार्यको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट रचना शिवक्ति, सृजा दनुवार र प्रणिस लामालाई जनही तीन हजार रुपैयाँ प्रदान गरिएको थियो। कार्यक्रममा अत्यन्त मार्मिक रचना प्रस्तुत गर्ने विद्यार्थी रोहित घतानिलाई शिक्षकहरूको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार