२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

राष्ट्रियसभा सदस्य निर्वाचन आजः १८ पदमध्ये १ निर्विरोध, बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदान


१९५१ पाठक संख्या
  • २०८२ माघ ११, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • ११ माघ, काठमाडौँ। राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि आज माघ ११ गते देशभर निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदान हुने गरी सबै प्रशासनिक तथा प्राविधिक तयारी पूरा गरिएको छ।

    कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गतको एक पदमा निर्विरोध निर्वाचन भइसकेको छ भने बाँकी १७ पदका लागि आज मतदान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।

    निर्वाचन आयोगले बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ। तोकिएका मतदान केन्द्रहरूमा सुरक्षाको पर्याप्त व्यवस्था, मतपत्र, मतपेटिका, कर्मचारी व्यवस्थापन तथा अनुगमन संयन्त्र परिचालन गरिएको आयोगले जानकारी दिएको छ।

    प्रदेशगत रूपमा मतदान केन्द्रहरू यस प्रकार निर्धारण गरिएको छः
    कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा), बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) मा मतदान केन्द्र तोकिएको छ।

    त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान हुने व्यवस्था मिलाइएको छ।

    राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था छ। आयोगका अनुसार सबै मतदातालाई समयमै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आवश्यक सहजीकरण गरिएको छ।

    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्दै सुरक्षा निकाय, प्रदेश निर्वाचन कार्यालय तथा सम्बन्धित निकायसँग समन्वयमा काम भइरहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार