२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पाँचखाललाई कृषिको ‘हब’ बनाउने प्रतिबद्धता व्यक्त गर्दै बसुन्धरा हुमागाईद्वारा पार्टी कार्यालय उद्घाटन


३७१९ पाठक संख्या
  • २०८२ माघ ११, आईतबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार तथा वागमती प्रदेशकी पूर्व कृषि मन्त्री बसुन्धरा हुमागाईले पाँचखाल नगरपालिकालाई कृषिको ‘हब’का रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    आज (आइतबार) पाँचखालमा नेपाली कम्युनिष्ट पार्टीको नगर कार्यालय उद्घाटन गर्दै उहाँले पाँचखालको भौगोलिक अवस्था, उर्वर भूमि र कृषिमा आधारित जीवनशैलीलाई ध्यानमा राखी आधुनिक, व्यावसायिक र उत्पादनमुखी कृषिको केन्द्र बनाउने योजना रहेको बताउनुभयो। पार्टी कार्यालय उद्घाटन हुनु भनेको संगठनात्मक एकता सुदृढ हुनुका साथै जनतासँग प्रत्यक्ष जोडिने आधार तयार हुनु हो भन्ने उहाँको भनाइ थियो।

    कार्यक्रममा बोल्दै उम्मेदवार हुमागाईले पाँचखाल नगरपालिका गठन हुनुअघि नै २०५९ सालमा साविक पाँचखाल गाविस, देउभूमि वालुवा, साठिघर तथा होक्से क्षेत्रका १९ वटा सरकारी विद्यालयको अनुगमन गर्ने क्रममा पाँचखालको समग्र सामाजिक, शैक्षिक र पूर्वाधार विकासको अवस्थाबारे नजिकबाट अध्ययन गर्ने अवसर पाएको स्मरण गर्नुभयो। त्यसबेला नै पाँचखालमा विकास निर्माण र कृषिमा आधारित योजनाको आवश्यकता महसुस गरेको उहाँले बताउनुभयो।

    उहाँले पाँचखाललाई खानेपानी अभावमुक्त बनाउने उद्देश्यले सुरु गरिएको सुनकोशी–पाँचखाल खानेपानी आयोजनामा आफूले सम्भव भएसम्म योगदान पुर्‍याएको उल्लेख गर्दै भन्नुभयो, “मैले पाँचखाललाई नजिकबाट बुझेकी छु। यहाँको सम्भावनालाई सही रूपमा उपयोग गर्न सकियो भने यो क्षेत्र कृषिको ठूलो केन्द्र बन्न सक्छ।”

    पूर्व कृषि मन्त्री हुमागाईले आफ्नो कार्यकालमा पाँचखालमा खाद्य भण्डारणका लागि गोदाम निर्माण गर्ने उद्देश्यले ठेक्का टेन्डर आह्वान गरिएको जानकारी दिँदै मन्त्री पदबाट बाहिरिएपछि उक्त प्रक्रिया रोकिएकोप्रति दुःख व्यक्त गर्नुभयो। साथै, पाँचखाल नगरपालिका वडा नं. ६ मा पशु स्वास्थ्य क्लिनिक निर्माण सम्पन्न गर्न सफल भएको र सबै वडामा यस्ता सेवा विस्तार गर्ने लक्ष्य लिइएको भए पनि पद गुमेसँगै योजना अघि बढ्न नसकेको बताउनुभयो।

    उहाँले कृषकलाई उत्पादनको आधारमा अनुदान दिने व्यवस्थाका लागि आवश्यक कार्यविधि निर्माण गरिएको उल्लेख गर्दै पाँचखालका १३ वटै वडाको अवस्था, आवश्यकता र प्राथमिकताबारे आफू जानकार रहेको दाबी गर्नुभयो। “कुन वडामा के आवश्यक छ भन्ने मलाई थाहा छ। त्यसअनुसार योजना बनाएर विकास निर्माणलाई अगाडि बढाउने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो।

    कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पार्टी कार्यालय उद्घाटनसँगै पाँचखालमा संगठन विस्तार र चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार