२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

चुनावी रणनीतिमा नेकपा काभ्रेपलाञ्चोक : संगठन, घरदैलो र मतदाता अभिमुखीकरणको जोड


२६५३ पाठक संख्या
  • २०८२ माघ १८, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचन परिचालन कमिटीको भेला सम्पन्न गर्दै आगामी निर्वाचनका लागि आफ्नो संगठनात्मक तथा राजनीतिक तयारीलाई तीव्र बनाएको छ। पाँचखाल, मण्डनदेउपुर, बनेपा नगरपालिका तथा भुम्लु गाउँपालिकामा सम्पन्न भेलाले पार्टीको चुनावी रणनीति स्पष्ट दिशातर्फ अघि बढेको संकेत दिएको छ।

    भेलामा पालिका संयोजक, कमिटी सदस्य तथा पार्टीका जिम्मेवार नेताहरूको सहभागिता रहेको थियो। पार्टीले पालिका तथा वडास्तरमा निर्वाचन परिचालन कमिटी गठन, स्वयंसेवक परिचालन, मतदाता शिक्षा र घरदैलो अभियान सञ्चालनलाई प्राथमिकता दिने निर्णय गरेको छ। पार्टीको चुनाव चिन्ह र उम्मेदवारलाई मतदातामाझ प्रभावकारी रूपमा चिनाउने उद्देश्यसहित संगठनलाई आधार तहसम्म सक्रिय बनाउने रणनीति अवलम्बन गरिएको छ।

    नेकपा काभ्रेपलाञ्चोकको पछिल्लो गतिविधिले पार्टी संगठनात्मक पुनःसक्रियता र जमिनस्तरको राजनीतिमा फर्किन खोजिरहेको संकेत गर्छ। पछिल्ला निर्वाचनहरूमा देखिएको मतदाता उदासीनता, आन्तरिक असन्तुलन र स्थानीय तहमा कमजोर संगठन संरचनाका कारण कम्युनिस्ट आन्दोलनप्रति विश्वास खस्किएको विश्लेषण हुँदै आएको छ। यस्ता चुनौतीलाई ध्यानमा राख्दै पार्टीले यसपटक वडास्तरदेखि नै निर्वाचन परिचालन कमिटी गठन र घरदैलो अभियानलाई केन्द्रमा राखेको देखिन्छ।

    पार्टी नेतृत्वले मतदाता शिक्षालाई जोड दिनु राजनीतिक रूपमा महत्वपूर्ण संकेत मानिन्छ। यसले पार्टी केवल नारामुखी होइन, मतदातालाई राजनीतिक रूपमा अभिमुखीकरण गर्ने र आफ्ना नीतिगत धारणा स्पष्ट पार्ने रणनीतिमा रहेको देखाउँछ। विशेष गरी चुनाव चिन्ह र उम्मेदवारको पहिचानलाई प्राथमिकता दिनु ग्रामीण भेगका मतदातालाई लक्षित व्यवहारिक रणनीति हो।

    पाँचखालमा सम्पन्न उक्त कार्यक्रममा क्षेत्र नं २ को उम्मेदवार वसुन्धरा हुमागाई , नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय द्वय मिना तमाङ , शिव प्रसाद न्यौपाने , वागमति प्रदेश सचिवालय सदस्य आइते सिं तमाङ , रविन्द्र राज सिपखान , चेत प्रसाद गौतम (मणि) नेपाली कम्युनिष्ट पार्टी पाँचखाल नगर निर्वाचन परिचालन कमिटि संयोजक रामशरण दुलाल, सह संयोजक रमेश राज गिरी लगायतका बक्ताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । कृष्ण हादुर श्रेष्ठले स्वागत मन्तव्य राखि सुरुभएको उक्त कार्यक्रममा गोकुल गुरागाईले पार्टीको सर्कुलर वाचन गर्नुभएको थियो ।  नेकपाका  नेताहरूका अनुसार पार्टीले ‘संगठन बलियो भए मात्रै निर्वाचन जित्न सकिन्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै जनतासँग प्रत्यक्ष सम्पर्कलाई चुनावी सफलताको आधार मानेको छ। जनमुखी एजेन्डा, स्थानीय आवश्यकता र वर्गीय सरोकारलाई केन्द्रमा राखेर मतदातासमक्ष जाने रणनीति पार्टीको मूल धारणा रहेको उनीहरूको भनाइ छ।

    समग्रमा हेर्दा नेकपा काभ्रेपलाञ्चोकले आगामी निर्वाचनलाई केवल प्रतिस्पर्धाको रूपमा होइन, पार्टी पुनःनिर्माण र जनविश्वास पुनःस्थापनाको अवसरका रूपमा लिएको देखिन्छ। वडास्तरदेखि संगठित, अनुशासित र योजनाबद्ध रूपमा अघि बढ्ने रणनीति कार्यान्वयनमा कति सफल हुन्छ भन्ने कुरा आगामी चुनावी गतिविधिले नै स्पष्ट पार्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार