काभ्रेपलाञ्चोक । नेपाल सोतोकान कराँते–डो संघ काभ्रे, पाँचखाल नगरको आयोजनामा तेस्रो पाँचखाल नगरस्तरीय मेयरकप सोतोकान कराँते प्रतियोगिता भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। पाँचखाल नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र समन्वयमा सम्पन्न प्रतियोगिताले स्थानीय तहमा मार्शल आर्ट्स खेलप्रति बढ्दो आकर्षण र सम्भावनालाई उजागर गरेको छ।
प्रतियोगिताको उद्घाटन पाँचखाल नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष सञ्जय तामाङले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई अनुशासन, आत्मसंयम, आत्मविश्वास र स्वस्थ जीवनशैली निर्माणको प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाले बालबालिका तथा युवालाई खेलकुदमार्फत सकारात्मक दिशातर्फ डोर्याउने उद्देश्यसहित आगामी दिनमा पनि कराँतेलगायत विभिन्न खेल गतिविधिमा लगानी र प्राथमिकता बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरपालिका तथा आसपासका क्षेत्रका विभिन्न कराँते क्लब तथा डोजोबाट बालक, बालिका, किशोर तथा किशोरी खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको प्रतियोगितामा विभिन्न उमेर समूह र तौल समूहअनुसार काता तथा कुमिताका प्रतिस्पर्धा सञ्चालन गरिएका थिए। प्रतिस्पर्धाका क्रममा खेलाडीहरूले उच्च अनुशासन, सीप र खेल भावना प्रस्तुत गरेका थिए, जसले दर्शकहरूलाई उत्साहित बनाएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टिमहरूलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। समापन समारोहमा नेपाल सोतोकान कराँते–डो संघ काभ्रेका पदाधिकारी, प्रशिक्षक, निर्णायक, अभिभावक, खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संघका अध्यक्ष विशाल घिमिरेले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने पाँचखाल नगरपालिका, प्रायोजक संस्था, प्रशिक्षक, निर्णायक, खेलाडी तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता नियमित प्रतियोगिताले स्थानीय स्तरमा कराँते खेलको प्रवर्द्धन, अनुशासित खेल संस्कृति निर्माण तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजक संस्थाका उपाध्यक्ष मोहनबहादुर गजुरेलले प्रतियोगिता शान्तिपूर्ण, मर्यादित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिँदै सबै पक्षको सहयोगले कार्यक्रम सफल भएको बताउनुभयो।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी रेफ्री तथा प्रशिक्षकहरू गणेश दनुवार, रमणी काफ्ले, राजु दनुवार, धिरज जोशी, प्रिति बहादुर रावललगायतले निर्णायक भूमिका निर्वाह गर्नुका साथै खेल व्यवस्थापन प्रभावकारी रूपमा सम्हाल्नुभएको थियो।
महिला तर्फ
२० केजी: प्रथम निस्मा दनुवार, द्वितीय आरुसी दनुवार, तृतीय अनुका तामाङ
२५ केजी: रञ्जुमाया तामाङ, विनिशा तामाङ
३५ केजी: अमिना तामाङ
४० केजी: प्रथम सोनिया तामाङ, द्वितीय विनुस्का तामाङ
४५ केजी: मञ्जु तामाङ, झरना केसी
५५ केजी: प्रथम वर्षा के.सी., द्वितीय चाहना मगर
पुरुष तर्फ
२० केजी: सन्देश तामाङ
२५ केजी: एलेक्स तामाङ
३० केजी: अनिश तामाङ
३५ केजी: संगम राना मगर
४० केजी: भिक्टर घिमिरे
५० केजी: युनियन पौडेल
५५ केजी: प्रथम बविन लामा, द्वितीय सञ्जय पहरी
खुल्ला तौल: आयुष तामाङ
स्थानीय तहको सक्रिय सहभागिता र खेलप्रतिको प्रतिबद्धताले पाँचखाल नगरलाई कराँतेलगायत मार्शल आर्ट्स खेलको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकहरूको विश्वास रहेको छ।
प्रतिक्रिया दिनुहोस