काभ्रेपलाञ्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियान तीव्र बनाएको छ।
कांग्रेसले पूर्वनिर्धारित तालिका अनुसार विभिन्न स्थानीय तहमा भेटघाट, छलफल, अन्तरक्रिया तथा कार्यकर्ता भेला गर्दै चुनावी गतिविधि अगाडि बढाइरहेको छ। अभियानअन्तर्गत बनेपा, बेथानचोक, मण्डनदेउपुर, भुम्लु, पाँचखाल र धुलिखेललगायत क्षेत्रहरूमा कार्यकर्ता भेला सम्पन्न भइसकेका छन्। ती कार्यक्रममा जिल्लाका विभिन्न तहमा जिम्मेवारी सम्हालिरहेका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ।
कार्यक्रमहरूमा बोल्दै कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार मधुप्रसाद आचार्यले नेपाली कांग्रेस नयाँ स्वरूपमा रूपान्तरण भइसकेको र जनलहर पार्टीकै पक्षमा देखिएको दाबी गरे। कांग्रेसले निर्वाचन जिते मात्र देशमा समृद्धि र स्थायित्व सम्भव हुने बताउँदै उनले आफूलाई यसपटक मतदाताले खोजिरहेको अनुभूति भएको उल्लेख गरे। कांग्रेसले विगतदेखि नै जनताको विश्वास जित्दै आएको र यो विश्वास आगामी दिनमा पनि कायम रहनेमा आफू विश्वस्त रहेको आचार्यले बताए।
भुम्लुमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस भुम्लुका सभापति तथा गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले कांग्रेस उम्मेदवार मधु आचार्यलाई जिताउन भुम्लुवासी पूर्ण रूपमा तयार रहेको घोषणा गरे। उनले पार्टी संगठन सुदृढ रहेको र स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको जित सुनिश्चित गर्न सबै कार्यकर्ता एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस