२८ माघ, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया स्थित सडक छेउमा एक २३ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छन्। बुधबार बिहान करिब साढे ९ बजे घाँटी कसिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार मृतक धनुषाको विदेह नगरपालिका निवासी मुस्लिम नदाफकी छोरी हलिना खातुन रहेको खुलेको छ। प्रारम्भिक जानकारीमा मृतक यौनिक अल्पसंख्यक भएको भनिए पनि अनुसन्धानका क्रममा उनी युवती भएको पुष्टि भएको प्रहरीले स्पष्ट पारेको छ।
घटनास्थलमा मृतकको चप्पल र झोला समेत फेला परेको छ। शवको अवस्था र घटनास्थलको प्रकृतिले कर्तव्य गरी हत्या गरिएको हुन सक्ने आशंका गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले बताए।
उनका अनुसार सलले घाँटी कसेर हत्या गरिएको जस्तो देखिए पनि घटनाको यथार्थ पोस्टमार्टम प्रतिवेदनपछि मात्र खुल्नेछ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस