२०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

डिस्कोफको अर्धवार्षिक समीक्षा सम्पन्न : वित्तीय अवस्था सुदृढ, पेपरलेस प्रणालीतर्फ ठोस पहल


३३८१ पाठक संख्या
  • २०८२ फागुन ५, मंगलबार मा प्रकाशित १३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ)को आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम (आज) मंगलबार बनेपास्थित संघकै आफ्नै भवनको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमले संघको वित्तीय अवस्था, प्रशासनिक सुधार, सेवा विस्तार तथा भावी कार्ययोजनाबारे स्पष्ट दिशानिर्देश प्रस्तुत गरेको छ।

    संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरू, पदाधिकारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम संघका सचिव प्रकाश वञ्जाराद्वारा सञ्चालन गरिएको थियो भने वरिष्ठ उपाध्यक्ष शान्ति लामा तामाङले स्वागत मन्तव्य व्यक्त गर्दै अर्धवार्षिक समीक्षा संस्थागत पारदर्शिता, उत्तरदायित्व र सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा संघका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा संघको कोष अवस्था विगत वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा सुदृढ बनेको छ। सञ्चालन खर्चमा मितव्ययिता अपनाइएकाले अनावश्यक व्यय घटेको र विभिन्न शीर्षकमा आम्दानी वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विशेषगरी संघको नवनिर्मित भवनबाट प्राप्त भाडा तथा पार्किङ व्यवस्थापनमार्फत भएको आयले नियमित आम्दानीको स्रोतलाई थप मजबुत बनाएको जनाइएको छ।

    समीक्षा बैठकमा अध्यक्ष श्रेष्ठले संघले हासिल गरेको उपलब्धि सामूहिक प्रयास र सहकार्यको परिणाम भएको बताउनुभयो। “हामी सबै पक्षलाई समेटेर अगाडि बढेका छौं, कसैलाई बाइपास गर्ने प्रवृत्ति राखेका छैनौं,” उहाँले भन्नुभयो, “अधुरो रहेको भवन निर्माण कार्य सम्पन्न गरी नियमित आम्दानी सुनिश्चित गरेका छौं। अब संस्थालाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी ढंगले सञ्चालन गर्ने दिशामा अघि बढिरहेका छौं।”

    उहाँका अनुसार संघलाई क्रमशः ‘पेपरलेस’ प्रणालीमा रूपान्तरण गर्ने कार्य सुरु भइसकेको छ। डिजिटल अभिलेखीकरण, अनलाइन सेवा विस्तार, दस्तावेज व्यवस्थापन प्रणालीको आधुनिकीकरण तथा प्रशासनिक प्रक्रियालाई सरलीकरण गर्ने योजना कार्यान्वयन चरणमा रहेको जानकारी दिइयो। यसले समय, लागत र कागजी झन्झट घटाउँदै सेवा प्रवाहलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउने विश्वास व्यक्त गरिएको छ।

    त्यसैगरी, निष्क्रिय सदस्य संस्थाहरूलाई सक्रिय बनाउने विशेष अभियान सञ्चालन गरिने र लामो समयसम्म निष्क्रिय रहने संस्थालाई विधिसम्मत प्रक्रियामार्फत विदाइ गर्ने नीति लिइने जनाइएको छ। संघले सदस्य संस्थाको क्षमता अभिवृद्धि, तालिम तथा परामर्श सेवामा समेत प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

    संघका सल्लाहकार मुकुन्द प्रसाद हादालले वर्तमान नेतृत्वमा संघले वित्तीय अनुशासन र संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति गरेको टिप्पणी गर्नुभयो। उहाँले सहकारी क्षेत्रलाई अझ प्रतिस्पर्धी, विश्वासिलो र सेवामुखी बनाउन दीर्घकालीन रणनीतिक योजना आवश्यक रहेको धारणा व्यक्त गर्दै भविष्यमा जिल्ला सहकारी संघले बैंकिङ क्षेत्रले प्रदान गर्ने सेवाभन्दा अझ सहज र सुलभ ढंगबाट सदस्य संस्थालाई सेवा दिन सक्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रमकै अवसरमा संघको सामुदायिक विकास तथा अतिरिक्त क्रियाकलाप उपसमिति सदस्य राजु सिग्देललाई नेपाल सरकार अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा असुली उपसमिति सदस्यमा मनोनित भएकोमा संघको तर्फबाट सम्मान गरिएको थियो। संघले उक्त मनोनयनलाई जिल्लाको सहकारी क्षेत्रका लागि गौरवको विषय भएको उल्लेख गरेको छ।

    अर्धवार्षिक समीक्षा कार्यक्रमले संघको वित्तीय अवस्था सकारात्मक दिशामा उन्मुख रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा सदस्य सशक्तीकरण, सेवा विस्तार, सुशासन प्रवर्द्धन र प्रविधिमैत्री व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहभागीहरूले सहकारी क्षेत्रको संस्थागत सुदृढीकरण, वित्तीय अनुशासन र दीर्घकालीन दिगोपन सुनिश्चित गर्न सामूहिक सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार