२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा विद्यार्थीहरुलाई स्वागत


१०५८३ पाठक संख्या
  • २०८२ बैशाख २६, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा “शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि’’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आज शुक्रबार विद्यालय तहमा नवआगन्तुक विद्यार्थीहरुको स्वागतार्थ विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नयाँ विद्यार्थीहरुलाई लक्षित गरी गरिएको सो स्वागत समारोह भव्य र शैक्षिक दृष्टिले समर्पित रहेको थियो । विद्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक यात्रा प्रारम्भसँगै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको समुचित सन्तुलनलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ । कार्यक्रमले विद्यार्थीहरुमा आत्मविश्वास, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापप्रतिको रुचिलाई प्रवद्र्धन गर्ने उद्देश्य अगाडि बढाईएको थियो ।

    कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका सञ्चालक सदस्य एवं प्रबन्ध निर्देशक प्रताप वैद्यको सभापतित्वको आशनबाट स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुको उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले शैक्षिक गुणस्तरका साथै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको प्रयोगात्मक पक्षलाई समेत विशेष जोड दिँदै विद्यार्थीलाई समग्र व्यक्तित्व विकासको दिशामा अघि बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

    उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, सहायक प्रधानाध्यापक, विद्यालय संयोजकहरू, विद्यालय प्रशासन, शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थित रहेको थियो । कार्यक्रमको औपचारिक प्रारम्भमा नवआगन्तुक विद्यार्थीहरुलाई टिका र खादा अर्पण गरी परम्परागत सम्मानसहित स्वागत गरिएको थियो ।

    कार्यक्रमको प्रमुख आकर्षण विभिन्न चरणहरूमा प्रस्तुत गरिएको सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति थियो । विद्यार्थीहरुले नेपाली लोक नृत्य, कविता वाचन, गायन तथा अभिनयजस्ता प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । यस्ता प्रस्तुतिहरूले उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालय जीवनप्रतिको आत्मीयता र प्रेरणा समेत जागृत गरेको उपस्थित अभिभावकहरूले तर्क थियो ।
    कार्यक्रममा बिद्याजयका सहायक प्रधानाध्यापक मिरा मानन्धरले मन्तव्य दिँदै ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान विगत वर्षदेखि नै अभिभावकमाझ लोकप्रिय बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले विद्यालयले आधुनिक शिक्षण विधि, डिजिटल शिक्षण–सामग्रीको प्रयोग तथा अनुभवी शिक्षकहरूको सहकार्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको धारणा प्रस्तुत गर्नुभयो ।

    कार्यक्रमका वक्ताहरूले शिक्षा केवल किताबी ज्ञानमा सीमित नहुने, बरु सामाजिक, सांस्कृतिक र नेतृत्वदायी क्षमताको विकासमा पनि समान रूपमा केन्द्रित हुनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो । विद्यालय संयोजक निश्चल लामाले समापन मन्तव्यमा विद्यार्थीहरूलाई विभिन्न क्षेत्रहरूमा प्रतिस्पर्धात्मक रूपमा सक्षम बन्न प्रेरित गर्नुभयो । उहाँले सामाजिक उत्तरदायित्व, सहकार्य र नेतृत्व क्षमताको विकासमार्फत विद्यार्थीले भविष्यमा समाजको नेतृत्व गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । “विद्यालय स्तरमै विद्यार्थीहरुको आन्तरिक प्रतिभा पहिचान गरी त्यसको प्रस्फुटन गर्न यस्ता कार्यक्रमहरू निकै प्रभावकारी देखिएका छन् । विद्यार्थीहरूमा नेतृत्व गुणको विकास गर्नु हाम्रो शैक्षिक उद्देश्यको अभिन्न हिस्सा हो।”

    नवप्रवेशी विद्यार्थीहरुका साथमा अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका अभिभावकहरूले विद्यालयको वातावरण, अनुशासन र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै बालबालिकाको समग्र विकासमा यस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
    विद्यालय प्रशासनका अनुसार, स्वागत कार्यक्रम केवल एक परम्परा नभएर विद्यार्थी र विद्यालयबीचको सम्बन्ध सुदृढ गर्ने अवसर पनि हो । यही अवसरमार्फत विद्यार्थीहरूले विद्यालयलाई दोस्रो घरका रूपमा स्वीकार गर्दै शैक्षिक यात्रामा सशक्त सुरुवात गर्न सक्ने अपेक्षा गरिएको बताउनु भयो ।

    कार्यक्रमको अन्त्यमा विद्यालय संयोजकले सबै सहभागी विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा सफलता प्राप्त गर्न शुभकामना दिंदै शिक्षा बाहेक अन्य अतिरिक्त विधामा पनि सक्रिय रहन प्रेरणा दिनुभयो । उहाँले सामाजिक, सांस्कृतिक, खेलकुद लगायतका क्षेत्रहरू मार्फत विद्यार्थीहरूमा सर्वाङ्गीण विकासको मार्ग खुल्ने बताउनु भयो । “ज्ञानकुञ्जबाट सिकेका सीप र अनुभवहरूलाई जीवनभर उपयोग गर्दै सामाजिक योगदान दिने व्यक्तित्व बन्ने अपेक्षा हामी सबैको हो,“ संयोजकको थप्नुभयो ।
    कार्यक्रम विद्यालयद्वारा काभ्रे जिल्लामा पहिलोपटक फरक ढंगबाट आयोजित भएकोले समेत विशिष्ट रह्यो । कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूमा आत्मबल वृद्धि गर्नुका साथै विद्यालयको समग्र शैक्षिक दर्शनलाई प्रत्यक्ष रूपमा उजागर गर्ने देखियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार