२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

पाँचखालमा ऐतिहासिक पलाञ्चोक भगवती जात्रा‚ वृहत सांस्कृतिक कार्यक्रमले भक्तजनमा थप उत्साह 


१५३६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ बैशाख ३०, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पलाञ्चोक भगवतीको मन्दिरमा चण्डी पूर्णीमाको अवसरमा आज (सोमवार) वाट भव्य ढङ्गबाट जात्राको सुरुवात भएको छ ।

    जात्रामा आएका दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जात्राको परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमको उद्‌घाटन पाँचखाल नगरका मेयर महेश खरेलले गर्नुभएको हो ।

    कार्यक्रमको उद्‌घाटन गर्दै मेयर खरेलले ऐतिहासिक पलान्चोकमा चण्डी पूर्णमाको अवसरमा लाग्ने जात्रामा निरन्तरता दिदैँ आगामी वर्षहरूमा भक्तजनहरूलाई थप मनोरञ्जन प्रदान गर्न पाँचखाल नगरपालिका र स्थानीय युवाहरूसँग मिलेर दमदार ढङ्गको सांस्कृतिक कार्यक्रम गरिने बताउनुभयो । उहाँले थप्नुभयो— भगवती मन्दिरमा आउने भक्तजनहरूलाई सहजताको लागि सवारी पार्किङ व्यवस्थाको लागि थप जग्गा खरिद गर्ने तयारी गरेका छौं । जग्गा खरिद गर्न एक करोड उठाउने लक्ष्य लिएका छौँ हामीले लिएका लक्ष्य दशैँ सम्ममा पुरा गर्ने सोचमा छौँ । पलाञ्चोक भगवतीलाई नेपालकै आस्थाको केन्द्र विन्दु बनाउदै विश्व सामु चिनाउनुको लागि कार्यको लागि निरन्तरता दिछौं । मेयर खरेलले भन्नुभयो ।

    कालिका‚ एकता‚ एकीकृत पहरी‚ पलाञ्चोक गैरीगाउँ क्लब र धन्देखोला नेवा समाजले संयुक्त रुपमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा पाँचखाल नगरपालिका उपप्रमुख सुर्य माया दनुवार ‚ चण्डी पूणिर्मा वृहत सांस्कृतिक कार्यक्रमका प्रमुख सल्लाहकार कुमार कुमार खकुरेल ‚ सुनकोशी पाँचखाल खानेपनी उपभोक्ता समितिका अध्यक्ष कुमार प्रसाद लामिछाने ‚ नेकपा एमालेका नेता कञ्चन अधिकारी ‚ पाँचखाल नगरका प्रबक्ता एवं वडा नं ८ का वडा अध्यक्ष संजय तामाङ ‚ पाँचखाल वडा नं ९ का निवर्तमान वडा अध्यक्ष किरण श्रेष्ठ ‚ पलाञ्चोक भगवती गुठियारको तफर्बाट उज्ज्वल श्रेष्ठ ‚ समाजसेवी एवं परिकल्पनाकार राधाकृष्ण श्रेष्ठ ‚ चण्डी पूणिर्मा वृहत सांस्कृतिक कार्यक्रमका उपाध्यक्ष प्रविण श्रेष्ठ लगायतका वक्ताहरुले पलाञ्चोक जात्राको आवश्यकता र महत्वको बारेमा आ—आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमका सभाध्यक्ष पाँचखाल वडा नं ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले विगत र वर्तमान साथै भावी योजनाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो भने सुमन कुँवरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

     यस्तो छ पलाञ्चोक भगवतीको महिमा 

    पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिर मध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमासमेत परिचित छ । वि.सं.४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा परम्परादेखि संस्कृतिको संरक्षणार्थ मनाइँदै आएको जात्रामा दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान गर्दै आएको छ ।

    जात्राको पहिलो दिन (चण्डी पूर्णिमा) को अघिल्लो दिन साँझमा बत्ती बाल्ने, दोस्रो दिन (मुख्य दिन) पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गरिने परम्परा रहेको छ । चण्डी पूर्णिमा र बडा दसैँमा एकादशीको दिन रथ बनाइ मन्दिर घुमाउने परम्परा छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५६ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको शिलालेखबाट प्रमाणित भएको थियो ।

    पलाञ्चोक भगवतीलाई ‘भगवतीको जेठी दिदीको रुपमासमेत चिनिन्छ । जिल्लाको (हाल नमोबुद्ध नगरस्थित) बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय वृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र बोकेर लैजान कोसिस गर्दा मूर्ति बोक्न नसकेपछि सोही स्थानमा भगवतीको मूर्ति राखी पूजाआजा सुरु गरिएको थियो ।
    तत्कालीन अवस्थामा ६० घरधुरीले भगवतीको मूर्ति बोक्न सहयोग गरेकाले उक्त स्थानको नाम सोही बेलादेखि ‘६० घर भगवती’ भएको बताइन्छ ।

    इस्वी संवत् ४२५ को समयमा कालीगढले दाहिने हातले निर्माण गरेको पलाञ्चोक भगवती, नाला भगवती, देब्रे हातले बनाएको नक्साल भगवती र गोडाले शोभा भगवतीको मूर्ति कुँदिएको किंवदन्ती छ । भगवतीका मूर्तिमध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकाले पनि अन्य भगवती मध्ये पलाञ्चोक भगवती बढी चर्चित र गन्तव्यस्थानको रूपमा रहेको पाइन्छ ।

    तत्कालीन समयमा भगवतीको मन्दिर निर्माण भएपछि मन्दिरको मौलिक पुजारी को बन्ने भन्ने विषयमा काठमाडौँको मखनटोलका बज्राचार्यबाट दैनिक नित्यपूजा र गुठीपूजा गर्ने गरी अनुमति पाएपछि हालसम्म पनि सोही टोलका बज्राचार्य परिवारले नै पूजा गर्दै आएका हुन् । करिब नौ पुस्ता बज्राचार्यले पुजारीका रूपमा दैनिक नित्य पूजा र गुठीपूजा गर्दै आएका छन् । पलाञ्चोक भगवती स्थानमा वि.सं.१९९० को भूकम्पले मन्दिर वरपरका घर सबै भत्किए पनि मन्दिरमा ठुलो खासै क्षति नभए पनि भगवतीको शिर पश्चिमतिर ढल्किएको थियो । उक्त मन्दिरमा भगवतीको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वासमा छ ।

    देशमा कुनै विपत्ति तथा सङ्कट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न सङ्केत देखिनुको साथै मूर्तिमा पसिना आउने गर्दछ । भगवतीको दर्शनका लागि दैनिकजसो दर्शनार्थीको भीड लागिरहने भए पनि विशेषरुपमा बडादसैँमा नवरात्रिको समय मन्दिरमा हाँस, बोका, राँगाआदिको बलि दिने प्रचलन छ । दसैँबाहेक वैशाखपूर्णिमा, माघे सङ्क्रान्ति, जेठको पूर्णिमालगायतका चाडपर्वमा मन्दिरमा ठुला मेला लाग्दछ ।
    ऐतिहासिक दस्ताबेजअनुसार पृथ्वीनारायण शाहको एकीकरणको समयपछि मन्दिर, पुजारी, गुठियार र बाजागाजा बजाउने समुदायको व्यवस्थापन गरिएको थियो ।

    एकीकरणपछिको समयदेखि पुजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्नुका साथै दैनिक नित्यपूजाका लागि फूल ल्याउने, कसाइले काटमार गर्ने, कुस्लेले पूजाको समयमा बाजा बजाउनेजस्ता कामको बाँडफाँट गरिएको बताइन्छ । पलाञ्चोक भगवतीका नाममा तत्कालीन बालुवा गाविस, दोलालघाट, पाँचखाल, होक्सेलगायतका गाविसमा करिब एक हजार आठ सय रोपनी जग्गा स्थानीय मोहीहरूले कमाउँदै आएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार