२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

१० घटक एकीकृत, ‘नेपाली कम्युनिस्ट पार्टीको घोषणा : जेनजीका मुद्दा सम्बोधनको प्रतिज्ञा


५९८१ पाठक संख्या
  • २०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ३ महिना अघि
  • काठमाडौं, १९ कात्तिक २०८२ , देशभर जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र रूपान्तरणका मागबीच पुराना १० वाम घटक एकीकृत भएर ‘नेपाली कम्युनिस्ट पार्टीको गठन गरेका छन्। नयाँ पार्टीले जेनजी पुस्ताको मुद्दा सम्बोधन र समाजवादी रूपान्तरणको दिशामा अघि बढ्ने प्रतिवद्धता जनाएको छ।

    बुधबार काठमाडौंमा आयोजित एकता घोषणासभामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपा (समाजवादी माओवादी), नेकपा (साम्यवादी), चिरन पुन समूह, देशभक्त मोर्चा लगायतका दलहरू एकीकृत हुँदै नयाँ पार्टी गठन गरिएको घोषणा भयो।

    नवगठित पार्टीका संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल चयन भएका छन्। एकता सभालाई नै राष्ट्रिय सम्मेलनका रूपमा रुपान्तरण गर्दै घोषणापत्र र विधान सार्वजनिक गरिएको हो।

    जेनजी पुस्ताका मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता

    पार्टीले सार्वजनिक गरेको २३ बुँदे प्रतिवद्धतामा जेनजी पुस्ताका मुद्दा र आकांक्षा सम्बोधन गर्न प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ।
    “नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र स्वतन्त्रता अक्षुण्ण राख्दै जेनजी पुस्ताको आकांक्षाको सम्बोधन गर्न पार्टी दृढ रहन्छ,” प्रतिवद्धतामा भनिएको छ।

    मार्क्सवाद–लेनिनवादका सैद्धान्तिक आधारलाई नेपालको विशेष परिस्थिति अनुरूप सिर्जनात्मक रूपमा लागू गर्ने र लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्ने लक्ष्य राखिएको छ।

    सुशासन र पारदर्शिताको प्रतिज्ञा

    पार्टीले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने घोषणा गरेको छ।
    शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा सबै जनतासम्म पुर्‍याउने र समाजका सबैखाले शोषण, उत्पीडन, अन्याय र विभेदको अन्त्यका लागि संघर्षरत रहने प्रतिवद्धता पनि गरिएको छ।

    आर्थिक रूपान्तरणका एजेन्डा

    स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने, रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि विशेष पहल गर्ने पार्टीको योजना छ।
    कृषि, स्वदेशी उद्योग, पर्यटन र जलविद्युतलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने घोषणा गरिएको छ।

    सादा जीवन र नयाँ कार्यशैलीको घोषणा

    पार्टीले आन्तरिक लोकतन्त्र सुदृढ गर्दै नेतृत्व विकास र हस्तान्तरणका वैज्ञानिक विधि लागू गर्ने प्रतिज्ञा गरेको छ।
    नेता–कार्यकर्ताले सादा जीवनशैली, पारदर्शी कार्यशैली र श्रम–उत्पादनमा संलग्नता कायम गर्ने बताइएको छ।

    प्रचण्ड र माधव नेपालको अभिव्यक्ति

    संयोजक प्रचण्डले १० घटकबीचको एकतालाई नेपाली कम्युनिस्ट इतिहासमै “अविस्मरणीय” भने।
    “अब नयाँ शक्ति निर्माण भएको छ, यो एकता देशका संकट समाधानका लागि बनेको हो,” उनले भने।

    सहसंयोजक माधव नेपालले नयाँ पार्टी पुराना संरचनाको मात्र विस्तार नभई नयाँ विचार र व्यवहारमा आधारित भएको बताए।
    “नेकपाका नौ शीर्ष नेतामध्ये पाँच जना यहीं छन्, त्यसैले मूल पार्टी यही हो,” उनले भने, “जेनजी पुस्ताले उठाएका एजेन्डामा हामी सहयात्रा गर्नेछौं।”

    वाम एकताको नयाँ चरण

    कार्यक्रममा झलनाथ खनाल, देव गुरुङ, वामदेव गौतम, बेदुराम भुसाल, पम्फा भुसाल, महेन्द्र राय यादव, सुवासराज काफ्ले, चिरन पुनलगायत नेताले एकताको औचित्य र नयाँ पार्टीको दिशाबारे धारणा राखेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार