२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

निर्वाचन मिति सार्ने दुस्साहस नगर्नुहोस्, संविधान मिचिए चुप लागेर बस्दैनौँ : प्रचण्ड


३१२१ पाठक संख्या
  • २०८२ पौष ५, शनिबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न कडा चेतावनी दिएका छन् ।

    शनिबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले निर्वाचन सारिए वा संविधान मिचिने प्रयास भए आफ्नो पार्टी चुप लागेर नबस्ने स्पष्ट पारे ।

    प्रचण्डले सरकारलाई सहज र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै कुनै तर्क वा बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न चेतावनी दिए । उनले सरकारले पटक–पटक संविधान मिच्ने प्रयास गरेको आरोप लगाउँदै देशको असहज परिस्थितिलाई ध्यानमा राखेर अन्तरिम सरकार गठनमा सहयोग गरे पनि अब पुनः संविधान उल्लङ्घन स्वीकार्य नहुने बताए ।

    उनले भने, “हामीले भनेका छौँ—निर्वाचन सहज ढङ्गले सम्पन्न होस् । सरकारलाई भन्न चाहन्छौँ, कुनै पनि बहाना बनाएर निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोस् । यदि फेरि संविधान मिच्ने वा निर्वाचन धकेल्ने काम गरियो भने हामी चुप लागेर बस्ने छैनौँ ।”

    प्रचण्डले त्याग, निष्ठा र इतिहास नभएका अहंकारी र दम्भी प्रवृत्तिले प्रतिशोधको भाषा बोलेको भन्दै त्यसप्रति खबरदारी गरे । आफ्नो पार्टी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न होस् भन्ने पक्षमा रहेको उनले दोहोर्‍याए ।

    संयोजक दाहालले जनयुद्ध र जनआन्दोलनको शक्तिलाई एकीकृत गर्दै देशलाई सङ्कटबाट जोगाउने प्रयास गरिएको उल्लेख गरे । धनगढी, लम्ही, पोखरा, विराटनगर, जनकपुर, मधेस, सुर्खेत हुँदै काठमाडौँसम्म देखिएको जनताको विशाल उपस्थितिलाई हल्का रूपमा नलिन उनले चेतावनी दिए ।

    “यदि यो शक्तिलाई फेरि जिस्क्याइयो र संविधानसँग खेलबाड गरियो भने जनता सडकमा आउनेछन्,” उनले भने ।

    प्रचण्डले ६ महिना वा १ वर्ष समय थप्ने हल्लाले देश फेरि दुर्घटनातर्फ धकेलिने चेतावनी दिँदै त्यस अवस्थामा नेपाली कम्युनिष्ट पार्टी रमिते नबन्ने बताए । उनले ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी आन्दोलन र विद्रोहको झण्डा बोकेर सडकमा उत्रिने घोषणा पनि गरे ।

    उनले यही जनशक्तिले २५० वर्ष पुरानो राजतन्त्र ढालेर गणतन्त्र स्थापना गरेको स्मरण गराउँदै यसको तागतलाई हल्का रूपमा नलिन आग्रह गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार