काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ । कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटालाई ‘नसियत’ दिने निर्णय गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार मंसिर ११ गते प्रहरी नियमावली–२०७१ विपरीत आचरण गरेको भन्दै सापकोटासँग स्पष्टीकरण सोधिएको थियो ।
कोशी प्रदेशमा डीआईजी सरुवासम्बन्धी निर्णयमा उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका थिए । गृहमन्त्री ओमप्रकाश अर्यालले डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेशको कमाण्डमा पठाउने निर्णय गरेपछि सापकोटाले फेसबुकमा लेखेका थिए, “हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ।”
आफू कोशी प्रदेशको कमाण्ड सम्हाल्ने इच्छामा रहे पनि मन्त्रालयले अर्कै व्यक्तिलाई जिम्मेवारी दिएपछि उनले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेको प्रहरी स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालमा गरिएको उक्त टिप्पणी प्रहरी नियमावली–२०७१, प्रहरीको मिडिया सम्बन्धी नीति–२०६० तथा आचारसंहिता–२०७७ विपरीत ठहर गर्दै प्रहरी हेडक्वार्टरले डीआईजी सापकोटालाई नसियत दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस