२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

बालेन–रवि–कुलमानबीच आज पार्टी एकताको हस्ताक्षर, भोलि घोषणा सभा तयारी


४६२९ पाठक संख्या
  • २०८२ पौष ११, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच राजनीतिक एकताका लागि शुक्रबार हस्ताक्षर हुने भएको छ। देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि बढिरहेका बेला वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउने यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    स्रोतका अनुसार परिस्थितिमा कुनै अप्रत्याशित फेरबदल नभएमा आज साँझसम्म तीनै नेताबीच पार्टी एकतासम्बन्धी औपचारिक सहमतिमा हस्ताक्षर हुनेछ। हस्ताक्षरअघि तीनै पक्षले आ–आफ्नो तर्फबाट आवश्यक गृहकार्य पूरा गरिसकेका छन् भने सामूहिक छलफलका लागि अन्तिम तयारी भइरहेको बताइएको छ।

    स्रोतले दिएको जानकारी अनुसार तीनै नेता एकै स्थानमा भेला भई विस्तृत छलफल गरेपछि आजै सहमतिपत्रमा हस्ताक्षर गरिनेछ। ‘सबै पक्ष एक ठाउँमा बसेर एजेन्डा र कार्यदिशामा सहमति जुटेपछि आजै हस्ताक्षर हुन्छ। कुनै ठूलो अवरोध नआए भोलि एकता घोषणा सभा आयोजना गरिने तयारी छ,’ स्रोतले बतायो।

    राजनीतिक एकताको यो प्रयासलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग जोडेर हेरिएको छ। लामो समयदेखि परम्परागत राजनीतिक शक्तिहरूप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको सन्दर्भमा वैकल्पिक शक्ति र विशेषगरी युवा तथा जेन–जी मतदातालाई एकीकृत गर्दै नयाँ राजनीतिक ध्रुव निर्माण गर्ने रणनीति अघि बढाइएको बुझिएको छ।

    एकतापछि शासन प्रणाली सुधार, सुशासन, पारदर्शिता, भ्रष्टाचारविरुद्ध कडा कदम, रोजगारी सिर्जना, ऊर्जा विकास र शहरी व्यवस्थापनजस्ता विषयलाई साझा एजेन्डाका रूपमा अघि बढाइने तयारी छ। विशेषगरी शहरी युवा, स्वतन्त्र सोच भएका मतदाता र परिवर्तन चाहने वर्गलाई आकर्षित गर्ने लक्ष्यसहित साझा घोषणापत्र तयार गर्ने गृहकार्य भइरहेको बताइएको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार बालेन साहको शहरी व्यवस्थापन र स्वतन्त्र पहिचान, रवि लामिछानेको वैकल्पिक राजनीतिक अभियान तथा कुलमान घिसिङको ऊर्जा क्षेत्रमा देखिएको कार्यक्षमताको छविले एकतापछि नयाँ राजनीतिक सन्देश जाने सम्भावना देखिएको छ। यद्यपि व्यवहारिक कार्यान्वयन र दीर्घकालीन एकता टिकाइराख्न स्पष्ट कार्ययोजना आवश्यक हुने विश्लेषकहरूको भनाइ छ।

    एकताको औपचारिक घोषणा भएसँगै नेपाली राजनीतिक परिदृश्यमा नयाँ समीकरण बन्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार