२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

चरम राजनीतिक प्रभावले नेपाल पत्रकार महासंघको इतिहास मोडियो : मन्त्री खरेल


३६९३ पाठक संख्या
  • २०८२ पौष १२, शनिबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौँ, पुस १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउनुभएको छ । सत्य र तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने पत्रकारकै इतिहास मेटिनु गलत भएको उल्लेख गर्दै उहाँले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको इतिहास स्थापित गराउन आफूले पनि भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको विषयमा विशेष चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री खरेलले सत्य र तथ्यमा आधारित दस्तावेज सार्वजनिक गर्न सम्बन्धित पक्षलाई आह्वान गर्नुभयो । यथार्थ प्रमाण उपलब्ध भए सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रूपमा स्थापित गर्न आफूले पहल गर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा सत्यनारायण बहादुर श्रेष्ठकी कान्छी छोरी सुजिता मानन्धरले आफ्ना बुवाले पत्रकारिता र शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो । तत्कालीन दरबारसँगको सम्बन्धका कारण निर्वासित जीवन बिताउँदै भारतको कलकत्तामा रहनुपरेको र बहुदलीय प्रजातन्त्र स्थापनापछि नेपाल फर्किएर पुनः शिक्षा क्षेत्रमा सक्रिय रहनुभएको अनुभव उहाँले सुनाउनुभयो ।

    नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठको ११०औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मी प्रकृति अधिकारीलाई सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार–११४६ प्रदान गरिएको छ । गोरखापत्र राष्ट्रिय दैनिकका उपसम्पादक अधिकारीलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

    त्यस्तै, सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान–११४६ बाट वरिष्ठ पत्रकार तथा श्रेष्ठका सहकर्मी रामकृष्ण कर्माचार्यलाई सम्मान गरिएको छ ।

    कार्यक्रमकै अवसरमा तेस्रो मिडिया कप फुटसल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पुरुषतर्फ ललितपुर महानगरपालिका वडा नं. १६ कलाकार समिति र महिलातर्फ ललितपुरका महिला पत्रकार समूहलाई प्रमाणपत्र, ट्रफी तथा मेडल प्रदान गरिएको थियो ।

    नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षका रूपमा सत्यनारायणबहादुर श्रेष्ठलाई स्थापित गर्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवाः पत्रकार राष्ट्रिय दबूले पछिल्लो एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएका छन् । श्रेष्ठकै नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरूको पहिलो पेशागत संगठनका रूपमा नेपाल पत्रकार संघ गठन भएको थियो । संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते पुनः श्रेष्ठकै नेतृत्वमा संघको पुनर्गठन गरिएको ऐतिहासिक तथ्य छ ।

    फुटसल प्रतियोगितामा पत्रकार, कलाकार तथा विभिन्न पेशागत संघ–संस्थामा आबद्ध १० वटा टोलीको सहभागिता रहेको फुटसलतर्फका संयोजक प्रजित शाक्यले जानकारी दिनुभयो ।

    नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरी, ललितपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, तामाङ पत्रकार संघ, ताम्राकार समाजका प्रतिनिधि तथा विभिन्न सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार