२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

रास्वपा र बालेनबीच सात बुँदे सम्झौता, भावी प्रधानमन्त्रीका रूपमा बालेन अघि सारिने


२८८७ पाठक संख्या
  • २०८२ पौष १३, आईतबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौं । लामो समयदेखि जारी छलफल र संवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)बीच सात बुँदे सम्झौता भएको छ । उक्त सम्झौताअनुसार भावी प्रधानमन्त्रीका रूपमा बालेन साहलाई अघि सारिने सहमति भएको छ भने पार्टी सभापतिमा रवि लामिछाने यथावत रहनेछन् ।

    आज बिहान करिब ४ बजेतिर दुवै पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । राजनीतिक वृत्तमा चासोका साथ हेरिएको यस सहमतिलाई रास्वपा र बालेन पक्षको सहकार्यको नयाँ अध्यायका रूपमा हेरिएको छ ।

    हस्ताक्षर समारोहमा रास्वपाका उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साहलगायतको उपस्थिति रहेको थियो । यसैगरी सहमतिका साक्षीका रूपमा कुमार बेन, सुदिप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह तथा कलाकार निश्चल बस्नेतलगायत व्यक्तिहरू सहभागी थिए ।

    सहमति पत्रमा हस्ताक्षर गरेपछि रवि लामिछाने र बालेन साहले एक–अर्कालाई अंगालो हाल्दै सहकार्यप्रति प्रतिबद्धता जनाएका थिए । त्यसपछि उपस्थित सबै सहभागीले सामूहिक तस्बिर खिचाउँदै सहमतिको क्षणलाई स्मरणीय बनाएका थिए ।

    सहमति पश्चात् प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले यो सहमति व्यक्तिगत वा नेताहरूको चाहनाभन्दा पनि देशलाई आवश्यक परेका विषयलाई केन्द्रमा राखेर गरिएको बताए । “हामीले खोजेको सहमति नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको सहमति हो,” उनले भने । उनले देशमा सुशासन, जवाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको स्थापना गर्न यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    बालेन साहसँगको सहकार्यले आगामी राजनीतिक समीकरणमा नयाँ बहस र सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ । पछिल्लो समय वैकल्पिक राजनीति र युवा नेतृत्वप्रति बढ्दो आकर्षणका बीच भएको यस सम्झौताले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउने अनुमान गरिएको छ ।

    राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपा र बालेनबीचको यो सहमतिले आगामी निर्वाचन र सत्ता राजनीतिमा उल्लेख्य प्रभाव पार्न सक्छ । यद्यपि सम्झौताका सात बुँदाको विस्तृत विवरण सार्वजनिक भइनसकेकाले यसको कार्यान्वयन र प्रभावकारिताबारे थप स्पष्टता आउन बाँकी रहेको उनीहरूको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार