
२१ पुस, काभ्रेपलाञ्चोक । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले केन्द्रीय सदस्य गोकुल बास्कोटालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेपछि पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएको छ। उम्मेदवार छनोटको विधि मिचिएको, बहस अधुरै छाडेर निर्णय गरिएको तथा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाइएको आरोप नेताकार्यकर्ताहरूले लगाएका छन्।
आइतबार उम्मेदवार छनोटका लागि नेकपा एमाले काभ्रे क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक बसेको थियो। बैठकमा प्रतिनिधिसभा सदस्यका सम्भावित उम्मेदवारका रूपमा केन्द्रीय सदस्य गोकुल बास्कोटा र अशोक व्यान्जुका साथै जिल्लास्तरीय नेताहरू कुमार थापा, भीम न्यौपाने, हरिशरण दाहाल, विमला शर्मा र रजनी बैदारको नाम प्रस्ताव गरिएको थियो।
केन्द्रबाट पठाइएको निर्देशनअनुसार एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने भए पनि सो प्रक्रिया कार्यान्वयन नगरिएको भन्दै बैठकमा सहभागी अधिकांश नेताहरूले असहमति जनाएका थिए। बैठकमा उम्मेदवार चयनका मापदण्ड, क्षेत्रीय प्रतिनिधित्व, संगठनको अवस्था तथा आगामी निर्वाचनको रणनीतिबारे लामो समय छलफल भएको सहभागी नेताहरूले बताएका छन्।
बैठकमा करिब २२ जना सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए। छलफलका क्रममा केही सदस्यहरूले गोकुल बास्कोटालाई उम्मेदवार बनाउँदा संगठनलाई फाइदा हुने तर्क प्रस्तुत गरे भने अन्य सदस्यहरूले वैकल्पिक उम्मेदवारहरूलाई पनि समान अवसर दिनुपर्ने र विधिसम्मत प्रक्रिया पूरा गर्नुपर्ने अडान राखेका थिए।
तर छलफल निष्कर्षमा पुग्न नपाउँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ कमिटीका संयोजक कृष्णप्रसाद दाहालले अधिकांश सदस्यले गोकुल बास्कोटाको नाम लिएको दाबी गर्दै उनलाई सर्वसम्मत सिफारिस गरिएको घोषणा गरी बैठक कक्षबाट बाहिरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘निर्णयमा नपुग्दै संयोजकले माइन्यूट बोकेर बाहिरिन खोजेपछि बैठक केहीबेर तनावग्रस्त बनेको थियो,’ ती नेताले भने।
बैठकमा उपस्थित अन्य नेताहरू तथा कार्यकर्ताहरूले पार्टी विधान र केन्द्रको निर्देशनअनुसार प्रक्रिया पूरा नगरी निर्णय थोपर्न खोजिएको भन्दै संयोजकलाई रोक्न प्रयास गरेका थिए। उनीहरूले एकल नाम सिफारिस गर्नु अघि औपचारिक निर्णय, मत विभाजन वा सहमतिका बुँदाहरू माइन्यूटमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने माग गरेका थिए।
सहभागी नेताहरूका अनुसार बैठकमा कुनै औपचारिक निर्णय नहुँदै उम्मेदवार सिफारिस भएको घोषणा गरिएको हो। ‘उम्मेदवारका विषयमा छलफल जारी रहँदा संयोजक आफैं माइन्यूट बोकेर बाहिरिनु पार्टीको आन्तरिक लोकतन्त्रविपरीत हो,’ एक नेताले भने।
यसअघि संयोजक दाहालले बैठकको एजेण्डा एउटामात्र रहेको र सोही एजेण्डामा केन्द्रित भएर छलफल गर्न निर्देशन दिएका थिए। तर छलफलको क्रममा उम्मेदवार छनोटको विधि र संख्या नै मुख्य विवादको विषय बनेको थियो।
उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै बनेपा नगर कमिटीका अध्यक्ष नवराज मानन्धरले सामाजिक सञ्जाल फेसबुकमार्फत बैठकको प्रक्रिया र निर्णयप्रति आपत्ति जनाएका छन्। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनाइँदै गएको संकेत बैठकले दिएको टिप्पणी गरेका छन्।
उम्मेदवार सिफारिस प्रक्रियामा उत्पन्न विवादका कारण काभ्रे–२ मा एमालेभित्र आन्तरिक ध्रुवीकरण बढ्ने संकेत देखिएको छ। स्थानीय तहका नेताकार्यकर्ताहरूले केन्द्रले वस्तुगत छानबिन गरी विधिसम्मत निर्णय गर्नुपर्ने माग गरेका छन्।
एमाले काभ्रे जिल्ला नेतृत्वले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। विवाद चर्किँदै गए काभ्रे–२ मा आगामी निर्वाचनमा पार्टीको संगठनात्मक एकतामा असर पर्ने चिन्ता नेताकार्यकर्ताहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस