
आई.आर.के.मैनालीबनेपा।‘Love Sharing to the Community’ भन्ने मूल नाराका साथ शिर मेमोरियल एड्भेन्टिस्ट अस्पताल (SMAH) अन्तर्गतको नर्सिङ डिपार्टमेन्टले यस वर्षको क्रिसमस डे सामाजिक सेवामूलक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।
क्रिसमस पर्वको अवसर पारेर SMAH को नर्सिङ क्लस्टरले बनेपा नगरपालिका वडा नम्बर–५ स्थित का बस्ती बस्तीमा पुगेर माया बाँडफाँड कार्यक्रम सञ्चालन गरेको हो। उक्त कार्यक्रम अन्तर्गत समुदायका सदस्यहरूका लागि वयस्क सामान्य स्वास्थ्य परीक्षण, व्यक्तिगत आवश्यकता अनुसार औषधि वितरण तथा खाजा प्याकेज उपलब्ध गराइएको थियो। कार्यक्रमले समुदायका बालबालिका, वृद्धवृद्धा तथा आर्थिक रूपमा कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुर्याएको आयोजकको भनाइ छ।
नर्सिङ डिपार्टमेन्टको यस पहलले अस्पतालको सेवा केवल उपचारमा मात्र सीमित नराखी समुदायको जीवनस्तर उकास्नेतर्फ केन्द्रित रहेको स्पष्ट पारेको छ। स्वास्थ्य सेवा र करुणामूलक भावनालाई एउटै सूत्रमा बाँधेर सञ्चालन गरिएको कार्यक्रमले समुदाय स्वास्थ्य र दयालु सेवाप्रति SMAH को निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।
क्रिसमस पर्व हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रिष्टको जन्मदिनको अवसरमा मनाइने इसाई धर्मावलम्बीहरूको प्रमुख पर्व हो। यद्यपि पछिल्ला वर्षहरूमा नेपालमा यो पर्व धार्मिक सीमाभन्दा माथि उठेर सबै समुदायका मानिसहरूले प्रेम, सद्भाव र एकताको सन्देशका रूपमा मनाउन थालेका छन्। चर्चमा विशेष प्रार्थना, घर–बजार सजावट, उपहार आदानप्रदान, पारिवारिक जमघट तथा शुभकामना साटासाट गर्ने चलन नेपालमा पनि व्यापक बन्दै गएको छ।
क्रिसमस पर्वको ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै नर्सिङ डाइरेक्टर उमा थापाले भन्नुभयो,
“नेपाली सांस्कृतिक परिवेशमा क्रिसमस पर्वले दशैं–तिहारझैँ खुसी बाँड्ने, सजावट गर्ने र एक–अर्कासँग सद्भाव साटासाट गर्ने परम्पराको झल्को दिन्छ। यो पर्व केवल इसाई धर्मसँग मात्र सीमित छैन, यसले प्रेम, शान्ति र मानव एकताको सन्देश दिन्छ।”
उहाँका अनुसार येशु ख्रिष्टले मानव समाजलाई प्रेम, करुणा र मानवताको शिक्षा दिनुभएको थियो। यही शिक्षालाई व्यवहारमा उतार्ने उद्देश्यले SMAH नर्सिङ डिपार्टमेन्टले विगतदेखि नै क्रिसमसलाई सेवामूलक कार्यक्रममार्फत मनाउँदै आएको र यस वर्ष त्यसलाई अझ परिष्कृत रूपमा विस्तार गरिएको हो।
नेपालमा क्रिसमसका अवसरमा चर्चमा विशेष प्रार्थना कार्यक्रम आयोजना हुने, घर तथा बजारहरू बत्ती, क्रिसमस ट्री र विभिन्न सजावट सामग्रीले सजाइने, परिवार तथा मित्रजनबीच उपहार र शुभकामना आदानप्रदान हुने परम्परा रहेको छ। यसका साथै, समाजका विपन्न वर्गका लागि खाना वितरण, राहत तथा स्वास्थ्य सेवाजस्ता परोपकारी गतिविधिहरू पनि यस पर्वका महत्वपूर्ण पाटा मानिन्छन्।
प्रतिक्रिया दिनुहोस