२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

गुणस्तरीय शिक्षाको नमुना बन्दै नव प्रतिभा मावि , एसईई उत्तीर्ण विद्यार्थी र योगदानकर्ताको भव्य सम्मान


५७२१ पाठक संख्या
  • २०८२ पौष २४, बिहिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६ ढुंगानावेसीमा अवस्थित नव प्रतिभा शैक्षिक विकास प्रतिष्ठान सार्वजनिक गुठीद्वारा सञ्चालित नव प्रतिभा माध्यमिक विद्यालयको ३८ औँ वार्षिकोत्सव तथा एसईई २०८० र २०८१ ब्याच उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

    पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई मर्ज गर्ने नीति अवलम्बन गरेको जानकारी दिनुभयो । सोही नीतिअनुसार नगरभित्रका विद्यालय ३८ बाट घटाएर २७ मा सीमित गरिएको र आवश्यकता अनुसार थप विद्यालय मर्ज गरी भौगोलिक रूपमा केन्द्रित, सुविधा सम्पन्न तथा गुणस्तरीय विद्यालय विकास गरिने उहाँले स्पष्ट पार्नुभयो ।

    शिक्षा बिना समाजको रूपान्तरण असम्भव रहेको उल्लेख गर्दै प्रमुख खरेलले शिक्षक र विद्यार्थीको मात्र प्रयास पर्याप्त नहुने, अभिभावकको सक्रिय सहभागिता र उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले थप्नुभयो जिल्लाकै पहिलो गुठी विद्यालय पाँचखालमा रहनु गौरवको बिषय हो । भावि दिनमा यस विद्यालयलाई व्यवस्थित ढंगबाट कसरी संचालन गर्न सकिन्छ भन्ने बिषयमा “खाका ल्याउनोस बसेर छलफल गरौला ।”पाँचखाल नगरपालिका सिमित स्रोत र साधनको भरमा चलेको छ त्यसैले घाँटी हेरेर हाड निल्नु पर्छ । मेयर खरेलले भन्नुभयो ।

    कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक सरोज न्यौपानेले प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा करिब ३८ वर्षअघि स्थानीय समुदायले तीन महिनासम्म देउसी–भैलो खेलेर संकलन गरेको रकमबाट विद्यालय स्थापना गरिएको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै हाल विद्यालयमा पक्की भवन, विद्यालय बस, पर्याप्त खेलमैदान, शैक्षिक सामग्री तथा आवश्यक भौतिक पूर्वाधार विकास भइसकेको जानकारी दिनुभयो।

    प्रधानाध्यापक न्यौपानेका अनुसार हालसम्म विद्यालयबाट ४५७ जना विद्यार्थी एसईई उत्तीर्ण भइसकेका छन्, जसमा धेरैजसो विभिन्न पेशा, सेवा र व्यवसायमार्फत समाजमा उल्लेखनीय योगदान दिइरहेका छन्। विद्यालयले शिक्षकका लागि विषयगत तथा क्षमता विकास तालिम, विद्यार्थीका लागि डिजिटल माध्यममार्फत अध्यापन, सह–पाठ्यक्रम गतिविधि तथा गुणस्तरीय शिक्षामा निरन्तर जोड दिँदै आएको उल्लेख गर्नुभयो। सार्वजनिक गुठीको उद्देश्य अनुरूप विद्यालय जिल्लाकै उत्कृष्ट तथा पाँचखाल नगरपालिकाको नमुना विद्यालयका रूपमा स्थापित भएको प्रतिवेदनमा उल्लेख छ। साथै विद्यालयको सम्पूर्ण सम्पत्ति सार्वजनिक गुठीको स्वामित्वमा रहेको जानकारी पनि गराइएको थियो।

    कार्यक्रममा पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (पेटसान) का वरिष्ठ उपाध्यक्ष मेघराज दुलाल, प्याब्सन केन्द्रीय सदस्य डा. राममणि सापकोटा, प्याब्सन काभ्रे जिल्ला अध्यक्ष श्यामबहादुर भुजेल, वडा अध्यक्ष रामशरण दुलाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पाँचखाल नगर प्याब्सन अध्यक्ष राम प्रसाद कोइराला ,गुठी सञ्चालक समिति अध्यक्ष ईश्वरी राजकुमार मैनाली, पूर्व प्रधानाध्यापक बैकुण्ठ न्यौपाने, विद्यार्थी प्रतिनिधि सुप्रिना पराजुली लगायतले विद्यालयको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक तीर्थलाल कायस्थले राख्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । विद्यालय सञ्चालनमा नगरपालिकाको उल्लेख्य सहयोग तथा व्यक्तिगत रूपमा आर्थिक सहयोग र नगरपालिकाको तर्फबाट विद्यालय बस खरिदमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाँचखाल नगरपालिका प्रमुख महेश खरेललाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोद कुमार न्यौपाने, नेपाल सरकारका सहसचिव राजन पौडेल, अक्षयकोष संरक्षक रामहरी आचार्य, उद्धव थापा, दिलीप थापा तथा मरणोपरान्त स्व. बद्रीप्रसाद पराजुली (सुपुत्र राजकुमार पराजुलीमार्फत) लाई सम्मान गरिएको थियो ।

    एसईई २०८० र २०८१ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै वर्ष उत्कृष्ट शिक्षक सम्मान २०८० तर्फ पवित्रा चालिसे गौतम र २०८१ तर्फ प्रभात पन्तलाई सम्मान गरिएको थियो । त्यसैगरी १० वर्ष सेवा अवधि पूरा गरेका शिक्षक बिमला तिमल्सिना र तीर्थलाल कायस्थ, विभिन्न विधामा उत्कृष्ट शिक्षकका रूपमा प्रेमकला सापकोटा, उत्कृष्ट डान्स कोरियोग्राफर सनिता दनुवार सम्मानित हुनुभएको थियो । पूर्व विद्यालय व्यवस्थापन समिति सम्मानअन्तर्गत पूर्व अध्यक्ष सुदर्शन आचार्य, पूर्व सदस्य रामहरी ढुंगाना, सुनिता तिमल्सिना र राधाकृष्ण भट्टराईलाई सम्मान गरिएको थियो।

    कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरोज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो । यसै अवसरमा सम्पन्न विद्यालयको ३८औँ साधारण सभाबाट सुरोज कुमार पराजुलीको अध्यक्षतामा आगामी तीन वर्षका लागि विद्यालय व्यवस्थापन समिति पुनः गठन गरिएको छ। साथै शिक्षक–अभिभावक संघ टीका श्रेष्ठको अध्यक्षतामा गठन गरिएको जानकारी पनि दिइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार