२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

सुनको औंठी लुट्न ८३ वर्षीय वृद्धको ज्यान लिइयो, शव इनारमा फालिएको खुलासा


३६४१ पाठक संख्या
  • २०८२ पौष २८, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • २८ पुस, काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३ वर्षीय वृद्धको हत्या गरिएको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ। इलाम घर भई ललितपुर महानगरपालिका–१७, प्रसिद्ध टोलमा बस्दै आएका गर्जमान थापाको हत्या गरी शव इनारमा फालिएको अवस्थामा फेला परेको हो।

    गर्जमान २६ पुस दिउँसो करिब २ बजेतिर घरबाट निस्किएपछि बेपत्ता भएका थिए। दिउँसोभर आफन्तले टोल वरपर खोजी गरे पनि फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा बेपत्ताको उजुरी दर्ता गराइएको थियो। उजुरीपछि पनि दुई दिनसम्म उनको अवस्था पत्ता लाग्न सकेन।

    गहुँगोरो वर्ण, अन्दाजी ४ फिट अग्ला गर्जमान बेपत्ता हुँदा ‘नर्थफेस’ लेखिएको कालो ज्याकेट, कालो जिन्स पाइन्ट, कालो जुत्ता र क्रिम रङको टोपी लगाएका थिए। उनी बस्ने स्थानबाट करिब ८ सय मिटर उत्तर–पूर्वतर्फ पर्ने क्षेत्रमा खोजी तीव्र बनाइएको थियो।

    तेस्रो दिन स्थानीयले घर नजिकैको एक इनारभित्र सेतो बोरामा प्याक गरिएको शंकास्पद पोको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले सोमबार इनारबाट पोको निकाल्दा त्यसभित्र गर्जमान थापाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।

    शव हातखुट्टा बाँधेर बोरामा प्याक गरी इनारमा फालिएको अवस्थामा भेटिएकाले प्रारम्भिक अनुसन्धानमै हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले मुख्य अभियुक्तसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

    पक्राउ पर्नेमा भारत, बिहार राज्यको मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका २३ वर्षीय सदधाम मन्सुर रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको शाखा ललितपुर र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले पक्राउ गरेको हो। घटनामा संलग्न रहेको आशंकामा युसुफ अन्सारी र मोहमद नोमानलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

    प्रहरीका अनुसार मन्सुर काम गर्ने प्लाइउड कारखानाको नजिकै गर्जमान बस्दै आएका थिए। कारखानामा आवत–जावतका क्रममा उनीहरूबीच चिनजान भएको र सोही चिनजानको फाइदा उठाउँदै २६ पुस दिउँसो करिब ५ बजेतिर वृद्धको हत्या गरिएको देखिएको छ।

    हत्या गरेपछि शवलाई बोरामा प्याक गरी मध्यराति करिब ११:५५ बजे कारखानाबाट करिब २०० मिटर टाढा रहेको इनारमा फालिएको अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु र मृतकको तीन तोलाको सुनको औंठीसमेत बरामद गरेको छ।

    मृतक गर्जमानले सधैं तीन तोलाको सुनको औंठी लगाउने गरेको उनका आफन्तले बताएका छन्। पक्राउ परेका मन्सुरमाथि गरिएको अनुसन्धानबाट पनि उक्त औंठी लुट्ने उद्देश्यले नै हत्या गरिएको पुष्टि भएको एक अनुसन्धान अधिकृतले बताए।

    हाल पक्राउ परेका मन्सुरविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। अन्य पक्राउ परेकामाथि समेत घटनामा संलग्नताको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार