काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान नहुने भएको छ । निर्वाचन समिति संयोजक तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले आज मतदान प्रक्रिया स्थगित गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार आज साँझ ६ बजेर ३० मिनेटदेखि ७ बजेर ३० मिनेटसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । उक्त समयभित्र मात्रै उम्मेदवारी दर्ता गर्न पाइने र त्यसपछि समय थप नहुने निर्वाचन समितिले स्पष्ट पारेको छ । उम्मेदवारी दर्तापछि आवश्यक परिमार्जनसहितको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरिने केसीले बताए ।
निर्वाचन समिति संयोजक केसीका अनुसार बाँकी सम्पूर्ण निर्वाचन कार्यक्रम बुधबार बिहानदेखि क्रमशः अघि बढाइने छ । उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली तथा मतदानको मिति नयाँ कार्यतालिकामार्फत तय गरिनेछ ।
गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा पार्टीको संगठनात्मक संरचना, विधान संशोधन, राजनीतिक प्रस्ताव तथा नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुँदै आएको छ । महाधिवेशनमार्फत पार्टीको आगामी राजनीतिक दिशा तय हुने भएकाले कार्यकर्ता तथा राजनीतिक वृत्तको चासो उच्च देखिएको छ ।
नेतृत्व चयन प्रक्रिया केही ढिलाइ भए पनि महाधिवेशनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले कार्यतालिका परिमार्जन गरिएको निर्वाचन समितिको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस