३० पुस, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर चर्किएको आन्तरिक विवादले गम्भीर मोड लिँदै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेताहरूलाई पार्टीले कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको आधिकारिक निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूमाथि अनुशासनात्मक कारबाही गरिएको जनाएको छ। साथै, बैठकले विशेष महाधिवेशनको पक्षमा सक्रिय रहेका नेताहरूलाई आ–आफ्नो जिम्मेवारीमा फर्किन निर्देशन पनि दिएको छ।
महामन्त्रीद्वय थापा र शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिसक्दा पनि नेतृत्वले त्यसलाई बेवास्ता गरेको आरोप लगाउँदै विशेष महाधिवेशन आह्वान गरेका थिए। यद्यपि, उनीहरू सहभागी रहेको केन्द्रीय समितिको बैठकले पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो। सो निर्णयमा उनीहरूले फरक मत राख्दै आएका थिए।
विशेष महाधिवेशन आह्वान गर्ने पक्षका नेताहरूले बन्द सत्रको हलबाट पारित निर्णय नै अन्तिम हुने दाबी गर्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए। यस क्रममा पार्टी विभाजनको जोखिम बढेको भन्दै विभिन्न चरणमा शीर्ष नेताहरूबीच छलफलसमेत भएको थियो। मंगलबार मात्र नेताहरूबीच तीन चरणमा छलफल भएको थियो भने आज बिहान महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष छलफल गरेका थिए। तर ती सबै प्रयासबाट सहमतिको बाटो खुल्न सकेन।
निकास ननिस्किएपछि विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिएका थिए। सोही अनुसार सभापति पदका लागि गगन थापाको नाम दर्ता भइसकेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार अन्य पदाधिकारी पदका लागि पनि मनोनयन दर्ता भइसकेका छन्।
विशेष महाधिवेशन र नेतृत्व विवादले कांग्रेसभित्रको शक्ति संघर्ष सतहमा आएको छ भने आगामी दिनमा पार्टीको आन्तरिक राजनीतिले कुन दिशा लिन्छ भन्ने चासो बढेको छ।
प्रतिक्रिया दिनुहोस