२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

लायन्स क्लबद्वारा लालबन्दी आँखा उपचार केन्द्रलाई दुई करोडभन्दा बढीका आधुनिक उपकरण हस्तान्तरण


३०१७ पाठक संख्या
  • २०८२ माघ ८, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • सर्लाही । लायन्स क्लब इन्टरनेसनलले सर्लाहीको लालबन्दीस्थित सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई दुई करोड २० लाख २१ हजार ८६० रुपैयाँ बराबरका अत्याधुनिक आँखा उपचार उपकरण हस्तान्तरण गरेको छ।

    बुधबार आयोजित औपचारिक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई उपकरण हस्तान्तरण गर्दै सेवा शुभारम्भसमेत गरे। लालबन्दी नगरपालिका–५ स्थित जरुवा पानीमा सञ्चालनमा रहेको उक्त केन्द्रको स्तरोन्नतिका लागि उपकरण उपलब्ध गराइएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले जानकारी दिए।

    लायन्स क्लबले आँखाको शल्यक्रिया गर्न प्रयोग हुने फेको सर्जरी मेसिन, माइक्रोस्कोप, स्लिट ल्याम्पलगायत अत्याधुनिक उपकरण प्रदान गरेको हो। केन्द्र स्तरोन्नतिपछि यहाँबाट काठमाडौँको तिलगङ्गा आँखा उपचार केन्द्र सरहको सेवा प्रदान गर्न सकिने बुर्लाकोटीले बताए। अब आँखासम्बन्धी अधिकांश जटिल समस्याको उपचार स्थानीय तहमै सम्भव हुने उनको भनाइ छ।

    नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सुविधासम्पन्न भवनमा उपकरण जडान गरी केन्द्रले सेवा सञ्चालन गर्न लागेको छ। कार्यक्रममा बोल्दै लालबन्दी रेडक्रसका सभापति ध्रुवप्रसाद घिमिरेले फेको मेसिनमार्फत शल्यक्रियासहित उपचार सुरु गर्न चिकित्सक र प्राविधिकको शीघ्र व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग अनुरोध गरे।

    मुख्यमन्त्री यादवले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरबाही नियन्त्रण गर्न कडा कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई निर्देशन दिए। स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएकाले यसको गुणस्तरमा कुनै सम्झौता हुन नहुने उनले जोड दिए। साथै, आँखा उपचार केन्द्रलाई अत्याधुनिक उपकरण उपलब्ध गराएर प्रदेशकै स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै लायन्स क्लबप्रति आभार व्यक्त गरे।

    प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रायले दक्ष चिकित्सक तथा प्राविधिक प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्ने योजनासहित आवश्यक बजेट विनियोजन गरिने जानकारी पनि दिए।

    प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बेची लुङ्गेलीले उपलब्ध उपकरणको सही सदुपयोग गरी आँखा रोगीले नियमित र गुणस्तरीय सेवा पाउने व्यवस्था मिलाउन आग्रह गरे।

    लायन्स क्लब लालबन्दीका पूर्वअध्यक्ष राजकुमार न्यौपानेका अनुसार केन्द्रले सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली र भारतको बिहार क्षेत्रका गरी करिब १० लाख आँखाका बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ।

    उपकरण हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिका प्रमुख गोपाल पञ्जियार, पूर्वस्वास्थ्य राज्यमन्त्री रामसिंह, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार