२०८२ फागुन १, शुक्रबार | Fri, 13, Feb, 2026

गुणस्तरिय शिक्षालाई जोगाउने कार्य बनेपामा सञ्चालित एभरेष्ट एकेडेमीले गरेको छ—प्याब्सन अध्यक्ष


२०५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ फागुन १, शुक्रबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, बनेपा। एभरेष्ट एकेडेमीले आफ्नो स्थापनाको २५औँ वर्ष विशेष अवसर पारेर अभिभावक दिवससहित बहुआयामिक कार्यक्रम भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। २०५७ सालमा ४६ जना विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको विद्यालयमा हाल ९५६ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

    अभिभावक दिवसको अवसरमा विद्यालयले किन्डरगार्टेन दीक्षान्त समारोह, एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी सम्मान तथा विदाई, खेलकुद सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम एकैसाथ आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, शैक्षिक उपलब्धि सम्मान र अतिरिक्त क्रियाकलापको समापनले कार्यक्रम स्थल उत्सवमय बनेको थियो।

    विद्यालय व्यवस्थापन समितिका संस्थापनकालदेखिका अध्यक्ष सुन्दर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसी प्रमुख अतिथि तथा काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरस, वडा अध्यक्ष बलराम अधिकारी, विद्यालयका पदाधिकारी, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले बनेपामा गुणस्तरीय शिक्षा विस्तार गरी काभ्रेपलाञ्चोक मात्र नभई पूर्वी नेपाल र काठमाडौँ उपत्यकाबाट समेत विद्यार्थी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। निजी क्षेत्रका विद्यालयहरूले राष्ट्र निर्माण, शैक्षिक गुणस्तर अभिवृद्धि र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले एभरेष्ट एकेडेमीले अनुशासन, नैतिकता र प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर उदाहरणीय कार्य गरिरहेको बताउनुभयो।

    कार्यक्रमका विशेष अतिथि काभ्रेपलाञ्चोक जिल्ला प्याब्सनका अध्यक्ष श्याम भुजेलले  नेपालको शिक्षाक्षेत्रमा निजी विद्यालयहरूको योगदान उल्लेखनीय रहेको धारणा राख्दै एभरेष्ट एकेडेमीले काभ्रेपलाञ्चोकमा गुणस्तरीय शिक्षाको छुट्टै पहिचान स्थापित गरेको बताउनुभयो। उहाँले विद्यालयले पाठ्यपुस्तकमा सीमित नरही अतिरिक्त क्रियाकलाप, खेलकुद, नैतिक शिक्षा र नेतृत्व विकास कार्यक्रमलाई समेत प्राथमिकता दिएको उल्लेख गर्नुभयो। यस्ता प्रयासले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ थियो।

    उहाले थप्नुभयो—नेपालको शिक्षालाई जसरी नीजि विद्यालयले जोगायो त्यसैगरी काभ्रे जिल्लामा गुणस्तरिय शिक्षालाई जोगाउने कार्य बनेपामा सञ्चालित एभरेष्ट एकेडेमी गरिरहेको छ । पछिल्लो समयमा गुणस्तरिय शिक्षा प्रदान गर्नेको नाम एभरेष्ट एकेडेमी हो भन्दै पहिचान बनाउदै बिगत भन्दा शिक्षाको गुणस्तरमा थप प्रगति गर्दै आएको बताउनु भयो । एभरेष्ट एकेडेमीले आफ्नो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई कितावि ज्ञानमा मात्रै सिमित राख्दैन , विभिन्न खालको अतिरिक्त कृयाकलापमा अव्वल कार्य गर्दै अगाडि बढेको छ । एभरेष्ट विद्यालय जस्ता विद्यालयहरुले दिएको अव्वल उत्कृष्ट शिक्षाले गर्दा नीजिले ढुक्का साथ गुणस्तरिय शिक्षा प्रदान गरेको छ भन्ने वातावरण मिलेको बताउनु भयो । जसरी एभरेष्ट एकेडेमीले शिक्षाको क्षेत्रमा छुट्टै पहिचान सहितको हाईट कायम गर्न सकेको छ, यस्ता कार्यलाई निरन्तरता दिदै अगाडि बडेमा राष्ट्रमै उत्कृष्ट विद्यालयको रुपमा पहिचान हुन सक्नेमा टाडा छैन । बिशेष अतिथि भुजेलले भन्नुभयो ।

    संस्थापन कालदेखिका अध्यक्ष सुन्दर थापाले विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अभिभावकलाई सचेत बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। विद्यार्थीहरूमा अनुशासन, सरसफाइ, स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्वको भावना विकास गराउन विशेष ध्यान दिइएको उहाँले बताउनुभयो। अनुशासित र सरसफाइमा अग्रसर विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति अपनाइएको पनि उहाँले स्पष्ट पार्नुभयो।

    विद्यालयका प्रिन्सिपल अर्जुन थापाले स्वागत मन्तव्य राख्दै एभरेष्ट एकेडेमीले प्रविधिसहितको आधुनिक शिक्षालाई समुदायसम्म विस्तार गर्न निरन्तर पहल गरिरहेको बताउनुभयो। शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप, खेलकुद तथा नैतिक शिक्षालाई समान प्राथमिकता दिइएको उहाँको भनाइ थियो। “हामी असल, अनुशासित र नैतिकवान विद्यार्थी उत्पादनमार्फत समुन्नत समाज निर्माणमा योगदान दिन प्रतिबद्ध छौं,” उहाँले भन्नुभयो।

    कार्यक्रमको विशेष आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरू रहेका थिए। नृत्य, गीत, नाटक तथा विभिन्न सृजनात्मक प्रस्तुति मार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। अभिभावक र अतिथिहरूले उत्साहपूर्वक ताली बजाउँदै विद्यार्थीहरूको प्रस्तुति सराहना गरेका थिए।

    एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र, मायाको चिनो तथा शुभकामनासहित विदाई गरिएको थियो। उनीहरूको आगामी शैक्षिक यात्रामा सफलताको कामना गर्दै विद्यालयले निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएको थियो। त्यसैगरी खेलकुद सप्ताहअन्तर्गत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

    किन्डरगार्टेन तह उत्तीर्ण बालबालिकालाई दीक्षित गर्दै उनीहरूको शैक्षिक यात्राको नयाँ चरणमा प्रवेश गराइएको थियो। दीक्षान्त समारोहमा बालबालिकाहरूले विशेष पोशाकमा सहभागिता जनाउँदै उत्साहपूर्ण वातावरण सिर्जना गरेका थिए।

    कार्यक्रमले विद्यालयको २५ वर्षे शैक्षिक उपलब्धि, समुदायसँगको सहकार्य र भविष्यप्रतिको प्रतिबद्धता उजागर गरेको आयोजक पक्षले जनाएको छ। बहुआयामिक कार्यक्रममार्फत विद्यालयले विद्यार्थी, अभिभावक र समाजबीच विश्वास र सहकार्यलाई थप सुदृढ बनाउने सन्देश दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार