काभ्रेपलाञ्चोक । बनेपाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण मानिँदै आएको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय लाई हाल सञ्चालन भइरहेको भवन तथा जग्गाबाट हटाउने निर्णयपछि बनेपामा राजनीतिक तथा सामाजिक तरंग उत्पन्न भएको छ।
बनेपा नगरपालिका ले उक्त भवन र जग्गा आफ्नै मातहत ल्याई सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै स्थानीयवासी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले चर्को असन्तुष्टि जनाएका छन्।
नगरसभाबाट सर्वसम्मत निर्णय
नगरसभाको मिति २०८२ पुस ३० गते बसेको १७ औँ अधिवेशनले वडा नं. ५ अन्तर्गत सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। निर्णय प्रारम्भमा सार्वजनिक नभए पनि शिक्षालय प्रशासनलाई भवन खाली गर्न पठाइएको पत्र बाहिरिएपछि विषय सार्वजनिक भएको हो।
निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि शिक्षालयका पठनपाठन कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा सारेर हाल प्रयोग भइरहेको भवन खाली गरिदिन पत्राचार गरिएको छ। उक्त पत्रमा बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य को हस्ताक्षर रहेको स्रोतले जनाएको छ।
‘वैकल्पिक व्यवस्था अस्पष्ट’
स्थानीयवासीको आरोप छ— नगरपालिकाले शिक्षालय सार्ने निर्णय त गर्यो, तर वैकल्पिक स्थान, पूर्वाधार र व्यवस्थापनबारे स्पष्ट खाका सार्वजनिक गरेको छैन। “प्राविधिक शिक्षा आजको आवश्यकता हो। युवालाई सीप र रोजगारीसँग जोड्ने संस्थालाई हटाउनु दीर्घकालीन रूपमा नगरकै लागि हानिकारक हुन्छ,” एक अभिभावकले प्रतिक्रिया दिए।
विद्यार्थीहरूले पनि पढाइ अवरुद्ध हुने चिन्ता व्यक्त गरेका छन्। शिक्षालयमा अध्ययनरत विद्यार्थीका अनुसार स्थानान्तरणको अन्योलले भर्ना प्रक्रिया, प्रयोगात्मक कक्षा र पूर्वाधार व्यवस्थापनमा प्रत्यक्ष असर पर्न सक्छ।
राजनीतिक सहमति, जनस्तरमा असहमति
नगरसभाबाट प्रस्ताव सर्वसम्मत पारित भए पनि जनस्तरमा भने व्यापक असहमति देखिएको छ। सामाजिक सञ्जालमा निर्णयको पक्ष–विपक्षमा बहस तीव्र बनेको छ। धेरैले नगर नेतृत्वले प्राविधिक शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा प्रशासनिक संरचनालाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन्।
दीर्घकालीन असरको प्रश्न
शिक्षाविद्हरूका अनुसार प्राविधिक तथा सीपमूलक शिक्षाले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउँछ। यस्ता संस्थाको निरन्तरता, पूर्वाधार सुदृढीकरण र गुणस्तर अभिवृद्धि नै स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्ने धारणा उनीहरूको छ। स्पष्ट योजना र पर्याप्त पूर्वतयारीबिना स्थानान्तरण गर्दा शिक्षाको गुणस्तर र पहुँचमा असर पर्न सक्ने उनीहरू बताउँछन्।
नगरपालिका मौन
यस विषयमा नगरपालिकाको तर्फबाट हालसम्म विस्तृत औपचारिक धारणा सार्वजनिक भएको छैन। निर्णय कार्यान्वयन प्रक्रियाबारे स्पष्टता दिन माग गर्दै स्थानीयहरूले पुनर्विचार गर्न आग्रह गरेका छन्। आवश्यक परे आन्दोलनका कार्यक्रमसमेत अघि बढाउने चेतावनी दिइएको छ।
बनेपामा प्राविधिक शिक्षाको भविष्य र नगर विकासको प्राथमिकताबारे उठेको यो बहसले आगामी दिनमा स्थानीय राजनीतिक समीकरण र नीतिगत निर्णयमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।






























प्रतिक्रिया दिनुहोस