२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

अब उप्रन्त चै तिमी ढल्न पहिले हामी ढलिसकेको हुनपर्नेछ


८००९ पाठक संख्या
  • २०८२ भाद्र ३०, सोमबार मा प्रकाशित ४ महिना अघि
  • विनोद सापकोटा
    काभ्रेपलाञ्चोक पाँचखाल
    जेन- जी का नाममा खुल्ला पत्र :
    प्रिय जेन- जी ,
    आधुनिक नेपालकाे राजनैतिक ईतिहासमा घटेकाे अप्रत्यासित, अकल्पनिय अनि युगान्तकारी एबं दुरगामी प्रभाव राख्नसक्ने मूलत् भ्रष्टाचार अनि राजनैतिक वेथिति, विसंगति, अराजकता एबं कानुनी राज्यकाे उपेक्षा विरूद्दकाे युवा विद्राेहकाे पर्याय हाे जेन – जी आन्दाेलन जाे राष्ट्रिय सिमानामा मात्र सीमित नरहेर भूमण्डलीकृत भै विश्वभरका बडेबडे पार्टी तिनका नेता तथा कार्यकर्ता , राजनैतिक विज्ञ तथा विश्लेषक, कुटनितिज्ञ, प्राेफेसर तथा विश्लेषक देखि लिएर आम जनताहरूकाे मथिङ्गललाई झस्काईदिने युवाहरूकाे राजनैतिक चेत हाे । जब जब राज्य र राजनैतिक प्रणालीले जनमतकाे उपेक्षा गर्दछ , शाषक स्वेच्छाचारी र निरंकुश बन्छ, भ्रष्टाचारले सीमा नाघ्छ, दण्डहीनता व्यप्त हुन्छ, जब राजनैतिक दलहरू दल हैन दलाल हुन्छन तब तब विद्राेहकाे ज्वाला भित्रभित्र कसरी सल्किन्छ र त्यसकाे ताकत कतिसम्म हुनसक्छ भन्ने कुराकाे सार्वभाैमिक प्रमाण हाे जेन- जी आन्दाेलन । प्रजातान्त्रिक व्यवस्थामा शक्तिका असली स्राेत र हकदार जनता हुन् र हुनपर्छ भन्ने सिद्धान्तकाे दसी प्रमाण हाे जेन- जी आन्दाेलन ।
    Sep- 8 -9 नेपालकाे ईतिहासले जुगजुगसम्म पनि सम्झिरहने गाैरविलाे गाथाकाे तिथि हाे जसले दशकाै देखि राज्य संचालनकाे केन्द्रमा रहेका सरकार इतर एवं विपक्षमा रहेका सबैसबै भ्रष्ट राजनैतिक दल, नेता, कार्यकर्ताहरूकाे बलमिच्याई, अभिमान, आतंककाे विरूद्दमा ताण्डब मच्चाई जम्माजम्मी ४८ घण्टाकाे अन्तरालमा सरकारलाई घुँडा टेकाई जनताकाे सर्बाेच्चतालाई स्थापित गरेकाे थियाे । यस्ताे चामत्कारिक विद्राेह जाे विश्व ईतिहासमा न आजका दिनसम्म भएकाे थियाे न सायदै अब हुनसक्ला ।
    प्रिय जेन-जी , यति सुनाैलाे ईतिहास रचिसकेका तिमीलाई हार्दिक बधाई तथा शुभकामना छ । हाम्राे पुस्ताले साेच्न पनि नसकेकाे हाम्राे कल्पना भन्दा बाहिरकाे जुन परिवर्तन र उपलब्धी तिमीले आफ्नाे रक्तद्वारा सिंचित गरि सबैका लागि प्राप्त गरेका छाैं त्यसका लागि तिमीलाई बधाई भन्न प्रयाेग गर्ने त्याे लेभलकाे शब्दहरू सायदै शब्दकाेषमा संग्रह गरिएका हाेलान् जसलाई म शब्दमा तिम्रालागि खर्चन सकुँ अनि मेरा भावनाकाे ईन्टेनसिटीलाई तिनले समेट्ने दुष्साहस गरून् । मैले धेरै गमे, छामे मध्यरातसम्म तर अहँ भेटिएनन् । मेराे बाैद्दिक सीमितता पनि हुनसक्छन् । खयर फेरि पनि बधाई अनि धन्यवाद हामी सबै कायर पुस्ताहरूकाे तर्फवाट ।
    देख्दै छु तिम्राे अदम्य साहस अनि वलिदानबाट प्राप्त उपलब्धिहरूले कतै सार्थकता नपाउने पाे हुन् कि । तिनले संस्थागत रूप पाउनु अगावै आन्दाेलनकाे स्पिरिटकाे घाँटी निमाेठिने पाे हाे कि । तिमीले प्रदर्शन गरेकाे वीरतालाई अपराध करार पाे दिईने हाे कि । तिम्रा सपनाहरूलाई एम्वुसमा पारेर विधर्मीहरूले आगाे ताप्ने पाे हुन कि। कायर, लाछी, नपुङ्सक पुस्ताकाे न परे डर लाग्छ ।वेपत्तै डर लाग्छ । गला सुक्छ । कम्प छुट्छ । खुईखुई मात्र आउँछ । मिडिया हेर्छु, सामाजिक संजाल हेर्छु, चिया पसलमा गफ सुन्छु र त कहिले उत्साहित हुन्छु फेरि एकै निमेषमा मेरा उत्साहहरू, मनाेवलहरू अनि खुसीहरूले आत्मसमर्पण गरिहाल्छन् ।झाेक्राउँछु, टाेलाउँछु अनि आफैसँग झर्कन्छु । फेरि झल्यास्स हुन्छु । साेच्छु यी अपदस्त प्रधानमन्त्री, मन्त्रीहरू, संसदका सदस्यहरू, बिकाउ कर्पाेरेट मिडिया हाउसहरू, पत्रकारहरू, बेईमान व्यापारिक घराना अनि व्यापारिहरू, भ्रष्ट अनि पतित दलका नेता, अन्मत्त साँढे जस्ता तिनका वेलगाम कार्यकर्ताहरू, राजनैतिक संरक्षण दिईएका गुण्डाहरू, नमकहराम कर्मचारितन्त्र, प्रहरी प्रशासन ( केही अपवादलाई छाेेडेर ) अवसरवादीहरू, सबै तिम्रै विरूद्दमा त खनिएका छन् । फेरि तिमीहरू आफै विचमा पनि त विश्वासकाे दुरी बढ्दै गएकाे पनि मलाई आभास हुन्छ ।
    वर्तमान भू-मण्डलिकृत विश्व वहु- ध्रुर्विय विश्व शक्ति व्यवस्थाकाे वयस्क अवस्थामा पुग्न लागेकाे परिदृष्य अनि नेपालकाे भू- राजनैतिक लाेकेसन अत्यन्तै संवेदनशील भएकाे र त्यसकाे संवेदनशीलता माथि हाम्रा राजनैतिक दलहरूले देखाएकाे विवेकशुन्यता र खेलाईची प्रवृत्तिका कारण हामीले विपरित ध्रुविय विश्व शक्तिकाे दाैडमा भएका हाम्रा छिमेकीहरूकाे विश्वास गुमाईसकेका प्राय: छाै । नेपाल भू- राजनैतिक हिसावले अमेरिका तथा युराेपकाे गिद्देनजरमा आजमात्र हैन् पहिलेदेखिनै प्रयाेगशाला बन्दै आएकाे पनि तिमीलाई पक्कै थाह हुनपर्छ । विदेशीकाे त कुरा छाेड्देउ , स्वदेशी दल, नेता, कर्मचारी, विज्ञ, संघ संस्था काे कसकाे ईसारामा काम गरिरहेकाे छ पत्तै छैन् । डर देखाएकाे हैन, मलाई थाह छ तिमी डराउँदैनाै । गाेर्खाकाे रगत छ तिम्राे मुटुमा ।वीरका सन्तान हाैं तिमी । तर तिमी सतर्क चै पक्कै हुनपर्छ ।
    याे विषम परिस्थितिमा अत्यन्तै सुझबुझका साथ नहतारिकन तर यथासक्य छिटाे सेफ ल्यान्डिङकाे वाटाेमा जानैपर्छ । देशी विदेशी हस्तक्षेप अनि संकटकाे घडीमा नेपाल राष्टकाे अस्तित्व रक्षाका लागि नेपाल सेनाले ईतिहास देखिनै बढाे अदम्य साहस, काैशलता प्रदर्शन गर्दै आएकाे छ ।यसपटक पनि तिमी र तिम्राे सपनाकाे रक्षा उसैले गरेकाे हाे । त्यसलाई तिमीले कदापि भुल्नुहुन्न । त्याे तिम्राे रक्षकबच हाे । पूर्व प्रधानन्यायाधिस श्रीमान सुशिला कार्की जस्ताे निडर, प्राज्ञ, ममतामयी , सबै नेपालीजनकी ममतामयी आमालाई तिमीले अनणतरिम सरकारकाे प्रधानमन्त्री बनाएर आधा जिम्मेवारी त पूरा गरिसकेका छाैं तर तिम्रा शाहदात प्राप्त गरेका याेद्दाहरूले देखेकाे सपनाहरूले मुर्तरूप नपाएसम्म तिनका आत्माले शान्ति पाउने छैनन् ।
    दिनहुँ जसाे मरेर पनि बाँच्न अभ्यस्त मेराे पुस्ता तिम्राे पुस्ताकाे साहसकाे अगाडि नतमस्तक छ अनि तिम्राे साहसले हामीमा पनि अलग रक्त संचार भएकाे महसुस गर्दछाै। हामी पनि तिम्रा पछाडि उभिएका छाै सँगसँगै । ढलिसकेकाहरूलाई त हामीले जाेगाउन सकेनाै । याे क्षम्य त छैन तर माफ गरिदेऊ । अब उप्रन्त चै तिमी ढल्न पहिले हामी ढलिसकेकाे हुनपर्नेछ ।
    तिमी कत्ति पनि विचलित नहुनु । हामी छाै। सेना छ । प्रहरी छ । सबै दलहरूभित्र पनि देश पहिले भन्ने साेच भएका नेता, कार्यकर्ता छन्। नागरिक समाज, वुद्दिजिवि, पेशाकर्मी, व्यावसायी, किसान, मजदुर सबैसबै त छन् । सहयाेगी छिमेकीहरू र मित्रराष्टहरू छन् । भारत र वेलायतले त नवनियुक्त प्रधानमन्त्रीलाई वधाई ज्ञापन गर्दै नयाँ नेपालसँग सहकार्य गर्न उत्सुक भएकाे सार्वजनिक गरिसकेका छन भने उत्तरकाे छिमेकीले नेपाल आफ्नाे समस्या समाधान गर्न आफै सक्षम रहेकाे वक्तव्य दिएकाे छ । बिगारेकाे हामी आफैले हाे , आफैले सुधार्नु छ । राष्ट्रपतिले सबै सराेकार पक्षलाई आसन्न चुनावलाई सफल बनाउने गरि मार्गप्रशस्त गर्न आव्हान गरिसक्नु भएकाे छ । जनताकाे दैनिक जीवनयापनकाे प्रक्रियाले बिस्तार लय र गति लिन थालेकाे छ । सडकमा यातायातकाे चाप बढ्न थालेकाे छ । कार्यालयहरू खुल्न र सेवाप्रवाहमा जुटीसकेका छन् । राष्ट्रसेवक प्रहरी जनताकाे शान्ति सुरक्षामा अझै उच्च मनाेवलका साथ फर्किसकेकाे छ । नीजि क्षेत्र केही निरासाहरूका वावजुत सशक्त ढंगले उभिईसकेकाे छ ।
    भन्नुपर्ने कुरा धेरै छन तर याे कुरा हैन काम गर्ने वेला हाे । मलाई थाह छ विगतकाे ४-५ दिन यता तिमी सुतेका छैनाै, भाेकै छाै, केहि फ्रस्टेटेड छाै , केहि उत्साहित छाै । सिङ्गाे आकासनै तिमीमाथि खसेकाे अनुभव भैराकाे हाेला तिमीलाई । नहाेस पनि किन । घरव्यवहार समेत नचलाएकाे तिमीले देशकाे जिम्मेवारी उठाएका छाैं । मलाई थाह छैन मैले लेखेका कुरा तिमीकाेमा पुग्छ कि पुग्दैन तर हाम्रा भावनाहरू , चाहनाहरू, सपनाहरू मिल्छन् ।एउटा अलग खालकाे ताररहित तरंगले हामीलाई आपसमा खिचेकाे छ, जाेडेकाे छ ।
    हामीले देखेका छाैं दशकाैं लगाएर हजाराैं जनताकाे वलिदानले प्राप्त ऐतिहासिक अवसरहरू केही सीमित नेताहरूका कारण धुलीसात भएका छन् , व्यक्तिगत तथा पारिवारिक स्वार्थ सँग शहिदका त्याग, वलिदान सम्झाैता गरिएका छन् अनि पटक पटक नेपाली जनमाथि धाेका भएकाे छ । तिमीलाई त्यसाे गर्ने छुट छैन् । फुटेर हैन जुटेर काम गर्ने बेला हाे याे । हुनत संञ्जालमा आएका सबै समाचारहरू सत्य पक्कै हाेईनन् । मिडिया ट्रायल र मेनुपुलेसनका सामाग्री हुन् । तर म देख्छु छिनमै तिमी उत्तेजित भएका छाैं, छिनमै तिमी भावनामा बगेका छाैं , छिनमै आपसमा टिम स्पिरिट भएकाेपनि देखिन्छ फेरि छिनमै आपसमा लडेका छाैं । तिमी तमासा भएका छाैं, बनाईएका छाैं । तिमी नेतृत्व हाैं ।आफ्नाे शक्तिकाे पहिचान गर । सबैका सुन अनि तर्कसंगत र विवेकपुर्ण निर्णय गर । गरेका निर्णयहरू तुरून्त कार्यान्वयन गर । पछाडि फर्केर नहेर । तिमीहरू वीच विभिन्न मुद्दामा फरक मत हाेला, हुन्छनै, स्वभाविक हाे ।भित्र मन्थन गर । साेलिड डिसिजन सहित काेठा बाहिर आऊ । भित्र के भयाे देखाउन आवश्यक छ र ? केही समयका लागि कर्पाेरेट मिडियावाट दुरी बनाऊ । आफ्नाे एउटा मात्र मिडिया च्यानल बनाऊ र त्यसै मार्फत सूचना तथा निर्णयहरू सार्वजनिक गर । आफुमध्येकाे एकलाई प्रबक्ता बनाऊ , मिडियामा ऊ मात्र देखियाेस् । बाेल्न अघि साेच अनि मात्र बाेल । गाेपनियतामा तिमी संवेदनशील हुनैपर्छ ।त्याे तिम्राे शक्ति हाे, अधिकार हाे ।
    तिम्राे देशलाई सदैब अस्थिर , अशान्त र भद्रगाेलमा देख्न चाहनेहरू फेरि जुट्दैछन् , उठ्दैछन, बक्तव्यवाजी गर्दैछन् संविधानकाे, सिष्टमकाे, विधिकाे, कानुनकाे हवला दिएर जसकाे उसले पहिले कहिल्यै ख्याल गरेन । तिमीलाई अपराधी बनाउने जालसाजी भैरहेकाे छ । भाैतिक संरचनामा गरिएकाे क्षतिलाई देखाएर तिम्रा सहयाेद्दाहरूमाथि सांधतिक हमलाकाे षडयन्त्र रचिदै छ । आन्दाेलनका दाैरान नहुनुपर्ने, तिम्राे साेच र समझ र नियन्त्रण भन्दा वाहिरका अप्रिय घटना नभएका पनि छैनन् । ती सम्पूर्ण मानवीय एबं भाैतिक क्षतिकाे तिमीले सार्वजनिक रूपमा जिम्मा लिनपर्छ किनकि हिजाे पाे तिमी आन्दाेलनकारी थियाै त तर आज परिस्थिति परिवर्तन भैसकेकाे छ आज । अब तिमी सरकार हाैं । अन्यायमा परेकालाई न्याय दिनु तिम्राे दायित्व हाे । अन्याय गर्नेहरूलाई कानुनकाे कठघरामा उभ्याउनु तिम्राे जिम्मेवारी हाे । त्याे म्यनडेट तिमीसँग सुरक्षित छ । भाग्दैमा गरेका अपराधहरूवाट उन्मुक्ति कसैले नपाउन् । विगतमा राष्ट्रिय सम्पत्ति , स्राेत र साधनहरूकाे जतिपनि दुरूपयाेग भएकाे छ ती सबैकाे निर्मम र निश्पक्ष छानवीन गरि सजायकाे सिफारिस गर्नसक्ने शक्तिशाली आयाेग गठन गर । देशमा अबिलम्ब शान्ति सुरक्षाकाे प्रत्याभुति दिलाई ताजा जनादेशका लागि तयारीमा जुट । याद गर ताेकिएकाे समयमा निर्वाचन सम्पन्न गर्नु तिम्राे परम कर्तव्य हाे जाे फलामकाे चिउरा चपाउनु जत्तिकै छ । देख्दैछु अन्तरिम मन्त्रिमण्डल गठन गर्न सकस भैरहेकाे छ । पद, पावर अनि प्रतिष्ठाकाे लडाई सुरूवात भएकाे छ । सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेकाे, अप्ठेराे परिस्थितिमा पनि क्षमता प्रदर्शन गर्नसक्ने गैरराजनैतिक राष्ट्रिय व्यक्तित्वहरूलाई यतिवेला समेट्न सक्नुपर्छ । याे बेला जाति, धर्म, क्षेत्र जस्ता आधारहरू गाैण हुन्छन् । मिसन र रिजल्ट पहिलाे प्रथमिकता हुनपर्छ । छिमेकी, मित्रराष्ट्र, कुटनैतिक नियाेगहरू सँग पनि तिमी निरन्तर सम्पर्कमा रहनुपर्दछ । व्यालेन्सड र कुशल डिप्लाेम्यासी तिम्राे सफ्ट पावर बन्नसक्नुपर्छ । नयाँनेपाल कुनैपनि शक्ति राष्ट्रकाे क्रिडास्थल हैन र बन्न सक्दैन भन्ने कुराकाे डकुमेन्टेड अनि प्राक्टिकल एस्याेरेन्स दिन सक्नुपर्छ जसका लागि तिमीले ईन्टरनेशनल डिप्लाेम्यासीका जानकारहरूकाे सल्लाह र सहयाेग लिनैपर्छ । विगत देखि वर्तमान सम्मका सबै घटनमक्रमहरू डिप्लाेम्यासी ल्याप्सका परिणाम हुन् । तिमीले त्याे बुझ्नपर्छ ।
    मलाई थाह छ याे संसारमा सबैभन्दा सजिलाे काम सल्लाह र सुझाव दिनु हाे । कति कठीन छ परिस्थतिलाई सम्हाल्न भन्ने कुरा त तिमीलई भन्दा वढि त कस्लाई थाह छ र याे बेला । बाेल्ने मुखहरूभन्दा काम गर्ने हातहरू यतिबेलाका आवश्यकता हुन् । यी तमाम परिस्थितिहरूलाई देख्न सक्ने, बुझ्न सक्ने अनि सम्हाल्न सक्ने क्षमता तिमीमा छ भन्ने विश्वास छ हामीमा । तिमी अभिमन्यु बन्न नपराेस अनि बनाउने दुष्साहस कसैले पनि नगराेस् ।
    पशुपतिनाथले तिम्राे रक्षा गरून् ।
    उही तिम्राे सहयात्री जेन- Y
     लेखक बिनाेद सापकाेटा: अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिकाे शाेधकर्ता हुनुहुन्छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार