२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

सहकारीमा आन्तरिक लेखा परिक्षण र अनुगमन


११०७७ पाठक संख्या
  • २०८२ मंसिर ४, बिहिबार मा प्रकाशित २ महिना अघि
  • मनुप सापकोटा 

    सहकारी संस्था सदस्यहरूको साझा लगानी, आपसी सहयोग र आर्थिक सहभागितामा आधारित सामाजिक तथा आर्थिक संगठन हो । सहकारी संस्थाहरू सदस्यहरूको विश्वास र पारदर्शितामा चल्ने भएकाले यसको आन्तरिक व्यवस्थापन, वित्तीय अनुशासन र कार्यसम्पादनलाई सधैं सुदृढ र उत्तरदायी बनाइराख्न आवश्यक हुन्छ । आन्तरिक लेखापरीक्षण र सुपरिवेक्षणसहकारी सुशासनका आधारभूत स्तम्भहरू हुन ।

    आन्तरिक लेखापरीक्षणले सहकारी संस्थाको आन्तरिक प्रणाली, वित्तीय लेनदेन, निर्णय प्रक्रिया, नीति र कानूनी प्रावधानहरूको मूल्याङ्कन तथा सुधारका लागि गरिने कार्यको चित्रण गर्दछ । यो सहकारीभित्रै वा स्वतन्त्र आन्तरिक लेखापरीक्षकद्वारा गरिन्छ जसको मुख्य उद्देश्य संस्थाभित्र पारदर्शिता, उत्तरदायित्व र दक्षता कायम राख्नु हो । लेखापरीक्षणमा सहकारीका बहिखाताहरु, नगद र बैंक कारोबार, ऋण वितरण र असुली प्रक्रिया, खर्च, भौतिक सम्पत्ति, सदस्यता अभिलेख र नीतिगत निर्णयहरू जाँच गरिन्छ । यसले आर्थिक त्रुटि, अनियमितता वा कमजोरीहरू पहिचान गरी सुधारका लागि सिफारिस प्रदान गर्दछ ।

    सहकारीमा आन्तरिक लेखापरीक्षणको प्रमुख उद्देश्य संस्था भित्रको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन गर्नु, वित्तीय कारोबारमा पारदर्शिता र शुद्धता सुनिश्चित गर्नु, कानुनी मापदण्डहरूको पालना भइरहेको छ कि छैन भन्ने निश्चित गर्नु, कार्यक्षमता र उत्तरदायित्व बढाउनु र आर्थिक जोखिमको पहिचान र व्यवस्थापनका सिफारिसहरू गर्नु हो। यसको माध्यमबाट सहकारीले आफ्नो वित्तीय स्थिति बलियो पार्न, सदस्यको विश्वास बढाउन र समुदायमा ख्याती वृद्धि गर्न सक्छ।

    आन्तरिक लेखापरीक्षणमा संस्थाकोतथ्य संकलन, विश्लेषण, प्रतिवेदन र समिक्षा गरी विभिन्न चरणमा सम्पन्न हुन्छ। यस क्रममा लेखापरीक्षकले सहकारीका वित्तीय कागजातहरू, ऋण फाइल, खर्च बिल, सम्पत्ति विवरण र नीतिगत निर्णयहरूको अध्ययन गर्छ । संकलित तथ्यहरूको विश्लेषणपछि कमजोरी पत्ता लगाइन्छ र सुधारका सिफारिसहरू तयार पारिन्छ । अन्त्यमा लेखापरीक्षण प्रतिवेदन पेश गरिन्छ र त्यसका सिफारिसहरू कार्यान्वयन भएको छ कि छैन भन्ने पुनः अनुगमन गरिन्छ ।
    सहकारीमा सुपरिवेक्षण÷अनुगमन पनि लेखापरीक्षणकै पूरक र आवश्यक प्रक्रिया हुन । यसले सहकारी सञ्चालनमा गुणस्तरीयता सुनिश्चित गर्छन । यस अन्तर्गत सहकारीका दैनिकी कार्यहरू, सेवा प्रवाह, सदस्य लाभका कार्यक्रम र आर्थिक कारोबारहरूको नियमित निरीक्षण गरिन्छ ।

    जसले सहकारीले कानुन, नीति, निर्देशिका र मापदण्ड अनुसार कार्य गरेको छ कि छैन भन्ने परीक्षण गर्छ।यी प्रक्रियाहरूको उद्देश्य सहकारीका कार्यहरू कानुन र नीतिअनुसार सञ्चालन भएको छ कि छैन भन्ने सुनिश्चित गर्नु, व्यवस्थापन समितिको कार्यसम्पादन मूल्याङ्कन गर्नु, सदस्य सेवाको प्रभावकारिता परीक्षण गर्नु, वित्तीय जोखिम, कर्जा असुली र लगानीको अवस्था बुझ्नु र कमजोरी देखिएमा सुधारका निर्देशन दिनु हो। यसरी अनुगमन/सुपरिवेक्षणले सहकारीलाई समयमै सचेत गराउने, सुधारका उपाय लागू गराउने र दीगो सुशासन स्थापना गर्ने भूमिका खेल्दछ।आन्तरिक सुशासन भनेको पारदर्शिता, उत्तरदायित्व, निष्पक्षता र सदस्यकेन्द्रित निर्णय प्रक्रिया हो। लेखापरीक्षणले तथ्य र अंकको विश्लेषण गरेर सुधारका सिफारिसहरू गर्छ भने सुपरिवेक्षणले ती सिफारिसहरू कार्यान्वयन भएको छ कि छैन भनेर सुनिश्चित गर्छ। यी दुवै प्रक्रिया सशक्त र नियमित रूपमा सञ्चालन भएमा सहकारी संस्था कानुनी, वित्तीय र नैतिक दृष्टिले सबल रहन्छ ।

    जब सहकारीमा आन्तरिक लेखापरीक्षण, सुपरिवेक्षण, नीति स्पष्टता र संचार प्रणाली सशक्त हुन्छ, विवादका सम्भावना न्यून हुन्छ।यसरी, द्धन्द्ध व्यवस्थापन र आन्तरिक सुशासन एक–अर्काका पूरक हुन् । जहाँ सुशासन बलियो हुन्छ, त्यहाँ द्धन्द्ध स्वतः घट्छ।सहकारी संस्थाहरूको सफलता केवल पूँजी र सदस्य संख्यामा होइन, यसको आन्तरिक सुशासन र पारदर्शी व्यवस्थापनमा निर्भर हुन्छ। आन्तरिक लेखापरीक्षण र सुपरिवेक्षणले सहकारीलाई कानुनी, आर्थिक र नैतिक दायराभित्र राख्ने शक्तिशाली संयन्त्रको रूपमा काम गर्छ। यी प्रणालीहरू नियमित, निष्पक्ष र सुधारमुखी ढंगले सञ्चालन भएमा सहकारीहरू दीगो, विश्वासिलो र सदस्यमैत्री संस्थाको रूपमा विकसित हुन्छन ।

    लेखक –आर्थिक/प्रशासन विभाग प्रमुख
    आर्थिक विकास मित्र साकोस, पाँचखाल–४,काभ्रेपलाञ्चोक

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार