२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

बिपी राजमार्गको डाइभर्सन निर्माण सुरु


४३६९ पाठक संख्या
  • २०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । असोज १८ र १९ गते अविरल वर्षापछि रोशीखोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग डाइभर्सन निर्माण थालिएको छ । नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिहरूको पहलमा सडक विभागले सोमबार डाइभर्सन निर्माण थालेको हो । डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउन कम्तीमा चार दिन लाग्ने यातायात मन्त्रालयले जनाएको छ । 

    सोमबार सडक मर्मतका लागि तीन पालिकाको समन्वय बैठक बसेको छ। नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले विपी राजमार्ग अबरुद्ध हुँदा जताततै समस्या सिर्जना भएकोले सडक सुचारु गर्नका लागि पहल गरिरहेको बताए ।

    रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बिपी राजमार्गको १७ स्थानमा डाइभर्सन रोशीको बाढीले बगाएर यातायात ठप्प बनाएको बताएका छन्। बिपी राजमार्ग ठप्प भएपछि रोशी गाउँपालिकाको सबै वडा जोड्ने सडकहरु ठप्प भएको उनको भनाइ छ। राजमार्ग छिटोभन्दा छिटो सुचारु गर्नका लागि डाइभर्सन निर्माणको लागि सडक विभागलाई निरन्तर पहल गरिरहे र समन्वय गरिरहेको उनले बताए। सडक विभागले राजमार्ग खोल्नका लागि सक्रिय भएर काम अगाडि बढाइरहेको उनले बताएका छन्। ‘असोज १७ गतेदेखि १९ गतेसम्म परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको डाइभर्सन बगाएपछि रोशी गाउँपालिकाको सम्पूर्ण वडा सडकबाट सम्बन्धविच्छेद भएको छ। त्यसकारण जतिसक्दो छिटो राजमार्ग सञ्चालनका लागि हामीले पहल गरिरहेका छौँ। आज नमोबुद्ध नगरपालिका, रोशी र महाभारत गाउँपालिकाको संयुक्त बैठक बसेर पनि पहल गरेका छौँ।’ अध्यक्ष लामाले भने, ‘सडक विभागका हेभी इक्विपमेन्टका अपरेटरहरू दसैँ बिदामा घरबाट फर्किनसकेकाले लोकल अपरेटरहरू समन्वय गरेर पठाउने काम भएको छ।’

     

    बिपी राजमार्ग बाढीले बगाएपछि महाभारत गाउँपालिकाको ढोका नै बन्द भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। छिटोभन्दा छिटो सडक सञ्चालन गर्न पहल गरिरहेको उनले बताए।

    सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादले रात दिन गरेर भए पनि बिपी राजमार्ग छिट्टै खोल्ने बताए। ‘स्रोतसाधनको कमी छैन, खोलाको बहाव कम भएपछि काम सुरु गरिहाल्छौ। सबै ठाउँमा एकैपटक काम सुरु गछौँ। कालढुंगामा सुरु भइसकेको छ। चौकीडाँडामा पनि आजबाट काम सुरु हुन्छ,’ इन्जिनियर प्रसादले भने, ‘हामी काम सुरु गरेपछि रातदिन नै गरेर भएपछि छिट्टै राजमार्ग सुचारु गर्न लाग्नेछौँ।’ चौकीडाँडामा खोला भित्तैसम्म गएकाले खोलालाई फर्काएर डाइभर्सन निर्माण गर्ने तयारी भएको प्रसादले बताए।

    नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादबिचको बैठकले चाँडोभन्दा चाँडो बिपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरू निर्माणका लागि विशेष पहल गर्ने सहमति भएको छ ।

    बिपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनः बगाइदिएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।  राजमार्गको बोक्से कुना, घुमाउने, चौकीडाँडा, डालाबेँसी, पिप्ले, माम्ती, चरंगेफेदीमा अस्थायी रूपमा बनाइएको डाइभर्सन शनिबारदेखिको वर्षाले पुनः क्षति गराएसँगै राजमार्ग पूर्ण रूपले ठप्प भएको  हो।

    गत वर्ष यी सबै स्थानमा बाढीले पक्की राजमार्ग बगाएको थियो। क्षति भएको राजमार्ग सडक डिभिजनले करिब १० करोडको लगानीमा डाइभर्सन बनाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको थियो।

    बिपी राजमार्ग बन्द हुँदा नेपालको पूर्वी भाग जोड्ने छोटो दूरीको यात्रुहरूलाई सास्ती हुनुको साथै काभ्रे जिल्लाको रोशी, महाभारत, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको केही भागलाई यातायातमा असर परेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार