काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित १०७ जनाको टोलीले दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
निजामति कर्मचारी अस्पताल मीनभवन, काठमाडौं र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा निजामति सेवा दिवस–२०८२ को अवसरमा वडा नं. ६, दुलालथोकस्थित आधारभूत अस्पतालमा बृहत निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
विगत पाँच वर्षदेखि निजामति कर्मचारी दिवसको अवसरमा देशका विभिन्न स्थानमा निःशुल्क औषधीसहित बृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको निजामति कर्मचारी अस्पतालले यस वर्ष पाँचखालमा कार्यक्रम ल्याएको हो। सो शिविरका लागि निजामति कर्मचारी अस्पतालले १२ लाख रुपैयाँ र पाँचखाल नगरपालिकाले ५ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ। नगरपालिकाले शिविरका लागि आवश्यक सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएको छ।
नगर स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीका अनुसार, शिविरमा निजामति अस्पतालका ४६ जना, पाँचखाल नगर स्वास्थ्य शाखाका ६० जना र रेयुकाई आँखा अस्पताल बनेपाका १ जना गरी १०७ जनाको टोलीले सेवा प्रदान गरिरहेको छ। दुई दिन चल्ने यस शिविरबाट तीन हजारभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा दिने लक्ष्य लिइएको छ।
शाखा प्रमुख कार्कीका अनुसार, पहिलो दिनमा ८९४ जनाले उपचारका लागि नाम दर्ता गराएका थिए। तीमध्ये —
फिजियोथेरापी : ६२ जना
हाडजोर्नी : ७३ जना
छालारोग : ६२ जना
सर्जरी : ५८ जना
इसिजी : ७१ जना
स्त्रीरोग : १२३ जना
एक्स–रे : ६० जना
ल्याब : १६७ जना
दन्तरोग : ८३ जना
आँखारोग : २७१ जना
नाक, कान, घाँटी : ९९ जना
बालरोग : २७ जना
भिडियो एक्स–रे : १४२ जना
मानसिक रोग : २८ जना
मेडिसिन : ३५० जनाले सेवा लिएका छन्।
शिविरमा आँखा परीक्षण गराउनेमध्ये ४० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ। ती सबैको निःशुल्क शल्यक्रिया रेयुकाई आँखा अस्पताल बनेपाले पाँचखाल नगरपालिकाको व्यवस्थापनमा गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस