
आई.आर.के.मैनाली१६ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलन नयाँ चरणमा प्रवेश गर्ने संकेतका साथ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी दलहरूले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छलफलपछि आठ दलबीच एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरिएको हो। सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
यसअघि, नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठकले शुक्रबार माओवादी केन्द्रसहितका वाम दलहरूसँग एकता गर्ने नीतिगत निर्णय गरेको थियो। त्यसपछि माओवादी केन्द्रले पनि शनिबारकै बैठकबाट एकता प्रक्रियामा अघि बढ्ने निर्णय गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेको हो।
पार्टी नेताहरूका अनुसार, अब आगामी चरणमा कार्यदल गठन गरी एकताको रूपरेखा, संगठनात्मक संरचना र राजनीतिक दिशाबारे विस्तृत कार्ययोजना तय गरिनेछ। यो सहमति नेपाली वाम राजनीति पुनः एकढिक्का बन्ने प्रयासको रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस